कांग्रेस सभापति गगन थापाद्वारा पदभार ग्रहण (तस्बिरहरू)
काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेर शुक्रबार पदभार ग्रहण गरेका छन्।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएको नौ दिनपछि थापाले कार्यभार सम्हालेका हुन्। कार्यकक्षमा पूजाआजा गरेपछि उनले पदभार ग्रहण गरेका थिए।
विशेष महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरूले पनि शुक्रबारबाटै कार्यभार सम्हालेका छन्। विशेष महाधिवेशनपछि यसअघिका केन्द्रीय कार्यसमितिका बैठकहरू पार्टी कार्यालय बाहिर बस्दै आएका थिए। पार्टी कार्यालय सानेपामा नयाँ कार्यसमितिको पहिलो बैठक पनि शुक्रबार नै बस्दैछ।
पदभार ग्रहणका क्रममा पार्टी कार्यालयमा ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। उपस्थित कार्यकर्ताहरूले थापाको स्वागत गर्दै उनको पक्षमा नाराबाजी समेत गरेका थिए।

शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेर निर्वाचनमा होमिने औपचारिक निर्णय गर्ने कार्यसूची रहेको छ। बैठकले पार्टीको आगामी रणनीति र चुनावी कार्ययोजनाबारे ठोस निर्णय लिने बताइएको छ।







माघ ९, २०८२ शुक्रबार १४:५९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।