कोशीमा उद्यमशीलता प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंकको नयाँ सहकार्य
काठमाडौं : ग्लोबल आइएमई बैंक र डिएआई-उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमको वित्तीय पहुँच बढाउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरे। सम्झौताअनुसार, डिएआई-उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायहरूले कोशी प्रदेशमा रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा कार्यालयबाट सहज रूपमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
विशेष गरी नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आइटी, पर्यटन तथा उत्पादनमूलक क्षेत्रका व्यवसायलाई प्राथमिकता दिइने यो पहलले लगानीको अभावमा रहेका उद्यमीलाई व्यवसाय विस्तार र रोजगारी सिर्जनामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। डिएआई-उदय परियोजना नेपाल र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलमा कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा सञ्चालित छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको ग्लोबल आइएमई बैंकले ३५२ शाखा, ३८४ एटिएम र अन्य विभिन्न सेवा केन्द्रसहित एक हजारभन्दा बढी स्थानबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले हालै ‘बैंक अफ द इयर’ र ‘बेष्ट बैंक नेपाल’ जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गरिसकेको छ।
माघ ९, २०८२ शुक्रबार १२:०८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।