राप्रपा उम्मेदवार कर्भिकाले लिइन् उम्मेदवारी फिर्ता

राप्रपा उम्मेदवार कर्भिकाले लिइन् उम्मेदवारी फिर्ता

बुटवल : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट उम्मेदवारी दिएकी कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

नेपालको संविधानको धारा २९१ मा उल्लेखित प्रावधानका कारण उनले उम्मेदवारी फिर्ता लिएकी हुन्। विदेशी कार्ड त्यागेको तीन महिनाको अवधि नपुगेका कारण कानुनी जटिलता आउन सक्ने भन्दै उनले विज्ञप्ति जारी गरेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराइन्।

संवैधानिक व्यवस्था अनुसार विदेशमा बसोबास गर्दा प्राप्त गरेको स्थायी आवासीय अनुमति पत्र (कार्ड) परित्याग गरेको कम्तीमा तीन महिना पुरा भएपछि मात्र मनोनयनका लागि योग्य हुने हुँदा आफूले उम्मेदवारी फिर्ता लिएको थापाले जानकारी दिइन्। यद्यपि उनको उम्मेदवारीविरुद्ध कसैले विरोध र उजुरी नगरेको रहेको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, "अध्ययनको सिलसिलामा लिएको स्थायी आवास अनुमति पत्र, उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने मेरो बुझाइ थियो। आजको दिनसम्म मैले कुनै पनि अन्य देशको नागरिकता वा राहदानी लिएकी छैन। आजको मितिसम्म मेरो नेपाली राहदानी मात्र छ। तर पछि मलाई नेपालको संविधानको धारा २९१ अनुसार कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी भयो। देशको संविधानलाई स्वीकार गर्नु हामी सबैको कर्तव्य हो भन्ने निष्कर्षमा पुगेकी छु।"

माघ ९, २०८२ शुक्रबार ११:३१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।