रुपन्देहीको रोचक चुनावी समीकरण : विरासत भर्सेस विज्ञता

रुपन्देहीको रोचक चुनावी समीकरण : विरासत भर्सेस विज्ञता

बुटवल : रुपन्देहीमा 'पेसागत विज्ञता' र 'पूर्णकालीन राजनीतिज्ञ' बीच चुनावी प्रतिस्पर्धा देखिएको छ। व्यावसायिक जीवनमा स्थापित भइसकेका व्यक्तिहरू राजनीतिबाट टाढा रहनुपर्ने आम मनोविज्ञान चिर्दै रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा पेसागत पृष्ठभूमिका युवाहरूको वर्चस्व देखियो। 

योग्यता, क्षमता र आफ्नो पेसामा सफलता हासिल गरेका युवा इन्जिनियर, चिकित्सक, पाइलट र उद्यमीहरू यस पटक पूर्णकालीन राजनीतिज्ञको विरासतलाई चुनौती दिँदै चुनावी मैदानमा उत्रिएका छन्। राजनीतिमा 'गन्थन'भन्दा 'क्षमता' र 'विरासत'भन्दा 'योग्यता'को बहस चलिरहँदा विज्ञ युवाहरूको उपस्थितिले चुनावी प्रतिस्पर्धा रोचक हुने देखियो।  

राजनीतिलाई शक्ति सञ्चयको माध्यम मात्र नभई विज्ञता र सेवाको थलो बनाउनुपर्ने नयाँ भाष्यसहित शिक्षित र दक्ष वर्गले मतदाताका बीचमा आफूलाई विकल्पको रुपमा  प्रस्तुत गरेका छन्। मुख्य गरी परिवर्तनको मुद्दा बोकेर उनीहरू चुनावी मैदानमा छिरेका छन्, जसले चुनावी समीकरणलाई थप प्रतिस्पर्धी बनाएको छ। 

क्षेत्र नं. १ : इन्जिनियरहरूबीचको प्रतिस्पर्धा

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा इन्जिनियर सुनिल लम्साल उम्मेदवार बनेका छन्। उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि इन्जिनियर प्रज्वल बोहोरालाई मैदानमा उतारेको छ। प्रज्वल दिवंगत नेता दीपक बोहोराका छोरा हुन्। बुवाको राजनीतिक विरासतलाई अगाडि बढाउने संकल्पका साथ उनी चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनमा यहाँ एमालेका छविलाल विश्वकर्मा विजयी भएका थिए। 

क्षेत्र नं. २ : उद्योगी र कानुन व्यवसायीको चुनौती

यहाँ नेपाली कांग्रेसले स्थापित उद्योगी चुन्नुप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ। रुपन्देहीमा यशोदा फुड्स उद्योग स्थापना गरी 'करेन्ट चाउचाउ' विदेश निर्यात गर्दै आएका पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।

उनको प्रतिस्पर्धा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग छ। त्यस्तै, यही क्षेत्रमा रास्वपाबाट कानुन व्यवसायी सुलभ खरेल चुनावी मैदानमा छन्। देशलाई समृद्धि बनाउन पुराना दल र नेताहरूको विकल्पमा युवा नेतृत्व आवश्यक रहेको खरेलको तर्क छ। यद्यपि उनीमाथि सामाजिक सञ्जालमार्फत भदौ २४ को घटनामा भीड भड्काएको आरोपसमेत छ।

उनले भनेका छन्, "यो देश आज कुन स्थितिमा छ, यो सबै पुराना दल र नेताले गर्दा हो। त्यसैले देशमा परिवर्तनका लागि युवाहरूको आवश्यकता छ।" 

क्षेत्र नं. ३ : डाक्टर, पाइलटको आकर्षण

यस क्षेत्रमा बौद्धिक पेसाकर्मीहरूको आकर्षण बलियो देखिएको छ। कांग्रेसबाट भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका व्यवस्थापक एवं समाजसेवी सुशील गुरुङ उम्मेदवार छन्। उनी कांग्रेस नेता बालकृष्ण खाँणको निर्वाचन क्षेत्रबाट पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन्। शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासलाई उनले आफ्नो चुनावी एजेन्डाका रूपमा अघि सरेका छन्।

रास्वपाले न्युरो चिकित्सक डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ। रुपन्देही- ३ मा गत मंसिरका लागि तोकिएको उपनिर्वाचनमा रास्वपाले थापालाई टिकट दिने निर्णय गरेको थियो। २०७९ मा निर्वाचित राप्रपाका वरिष्ठ नेता बोहोराको मृत्युपछि यहाँ हुन लागेको उपनिर्वाचन 'जेनजी' आन्दोलनले रोकियो। तर, अहिले पनि रास्वपाले उनैलाई टिकट दियो। आफ्नो उम्मेदवारीबारे प्रस्ट्याउँदै थापा भन्छन्, "चिकित्सक भएकाले रुपन्देहीको सीमावर्ती क्षेत्रका बासिन्दालाई कसरी भरपर्दो उपचार सेवा दिने भन्नेबारे चिन्तित छु।" 

यस्तै, राप्रपाले ३० वर्ष लामो हवाई उडान अनुभव भएका वरिष्ठ 'इन्स्ट्रक्टर पाइलट' गौरव बोहोरालाई टिकट दिएको छ। उनी दिवंगत नेता दीपक बोहोराका छोरा हुन्। २०७९ को निर्वाचनमा यहाँबाट बोहोराले कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए। बुवाकै विरासत (लिगेसी) जोगाउन राप्रपाले उनलाई चुनावी मैदानमा उतारेको छ। "बुवाले सिकाएको राजनीतिबाट जनताको सेवक बन्न राजनीतिमा आएको हुँ," उनले भने।

क्षेत्र नं. ४ र ५ : व्यवसायीहरूको सक्रियता

रुपन्देही- ४ मा पर्यटन व्यवसायी प्रमोद कुमार यादव चुनावी मैदानमा छन्। उनी मनोनयनको दिन नेपाली कांग्रेस परित्याग गरी एमालेबाट उम्मेदवार बनेका हुन्। गएको निर्वाचनमा उनी पराजित भएका थिए।

त्यसैगरी, रुपन्देही- ५ मा रास्वपाले निर्माण व्यवसायी तौफिक अहमद खाँलाई उम्मेदवार बनाएको छ। लुम्बिनी क्षेत्रमा सामाजिक कार्यमा सक्रिय खाँ रास्वपाका वरिष्ठ नेता बालेन शाह निकट मानिन्छन्। यस क्षेत्रमा अघिल्लो पटक एमालेका वासुदेव घिमिरे विजयी भएका थिए।

रुपन्देहीका पाँचै क्षेत्रमा यस पटक फरक पृष्ठभूमिबाट आएका नयाँ अनुहारहरूले स्थापित राजनीतिक शक्तिहरूलाई चुनौती दिइरहेका छन्, जसले गर्दा यहाँको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।

माघ ९, २०८२ शुक्रबार १०:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।