गगन थापा भावी प्रधानमन्त्रीको उम्मेदवार, सानेपाबाट घोषणा गर्ने कांग्रेसको तयारी
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्दैछ। दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पहिलो पटक केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र रणनीतिबारे छलफल हुनेछ। सभापति गगन थापालाई पार्टीका तर्फबाट 'भावी प्रधानमन्त्री'को उम्मेदवारका रूपमा घोषणा गर्ने तयारी छ। उपसभापति पुष्पा भुसालका अनुसार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा होमिने निर्णय बैठकले गर्नेछ।
विशेष महाधिवेशनपछि पहिलो पटक सानेपा पुग्न लागेका सभापति थापा र अन्य पदाधिकारीहरूले शुक्रबार नै पदभार ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। यसअघि पार्टीको आन्तरिक विवादका कारण नवनिर्वाचित कार्यसमितिले केन्द्रीय कार्यालय बाहिरबाट राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको थियो।
बिहीबार मात्रै केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका थिए। बैठकले निर्वाचनलाई लक्षित गरी विभिन्न समितिहरू गठन गर्ने र चुनावी कार्यतालिका तय गर्नेछ। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार कांग्रेसले आगामी १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
आजको बैठक सकिए लगत्तै सभापति थापा चुनावी प्रचारका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ। यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्दै आएका थापाले यस पटक सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थिति हुन भनिएको छ।
माघ ९, २०८२ शुक्रबार ०८:३१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।