नक्कली जन्ममिति बनाएर वृद्धाभत्ता झ्वाम, वडाध्यक्षसहित सात जनाविरुद्ध मुद्दा दायर
काठमाडौं : उमेर नपुगेका व्यक्तिलाई नागरिकताको विवरण सच्याएर ज्येष्ठ नागरिक भत्ता खुवाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका-६ का वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा वडाध्यक्ष मकबुल मिया अंसारी, तीनजना तत्कालीन वडा सचिव र तीन जना भत्ता बुझ्ने लाभग्राहीविरुद्ध आरोपपत्र दायर गरेको हो।
बाराको पचरौता नगरपालिका-६ का स्थानीय साजुला मिया अंसारी, रबेया अंसारीन र उमत मिया अंसारीले वास्तविक उमेरभन्दा बढी उमेर देखाएर ज्येष्ठ नागरिक भत्ता लिँदै आएको उजुरीमाथि अख्तियारले छानबिन गरेको थियो।
अनुसन्धानका क्रममा उनीहरूले नागरिकताको प्रतिलिपिमा जन्ममिति केरमेट गरी विवरण पेश गरी राज्यलाई हानी नोक्सानी पुर्याएको पुष्टि भएको छ।
नियमअनुसार वडा समितिले निवेदनमाथि प्रारम्भिक छानबिन गर्नुपर्ने व्यवस्था भए पनि वडाध्यक्ष मकबुल मिया अंसारीले बदनियतपूर्वक उमेर नपुगेका व्यक्तिलाई भत्ता खुवाउन सिफारिस गरेको र नवीकरणसमेत गराएको अख्तियारको ठहर छ।
त्यस्तै, तत्कालीन वडा सचिवहरू राजाराम प्रसाद साह, पिटर थारु र संगिता घिमिरेले केरमेट भएको नागरिकता तथा नक्कली विवरणका आधारमा विद्युतीय अभिलेखमा प्रविष्ट गराई भत्ता वितरणमा सघाएको आरोप लागेको छ।
कसलाई कति बिगो र सजाय मागदाबी?
अख्तियारले वडाध्यक्ष अंसारीसँग ४ लाख ७६ हजार रुपैयाँ, तत्कालीन वडा सचिव साहसँग २ लाख ५२ हजार, घिमिरेसँग १ लाख ४० हजार र थारुसँग ८४ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।
साथै उमत मिया अंसारीको जन्ममिति २०१३/०८/०४ हुनुपर्नेमा २००२/१२/३० बनाएर २ लाख ५२ हजार रुपैयाँ भत्ता बुझेको, साजुला मिया अंसारीको जन्ममिति २०१७/०२/०३ हुनुपर्नेमा २००७/०२/०३ बनाएर १ लाख ४० हजार रुपैयाँ भत्ता बुझेको अनि रबेया अंसारीलको जन्ममिति २०११/०२/३१ हुनुपर्नेमा २०००/०२/३१ बनाएर ८४ हजार रुपैयाँ भत्ता बुझेको अभियोग पत्रमा उल्लेख छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लाभग्राहीहरूलाई मतियारका रूपमा र जनप्रतिनिधि तथा कर्मचारीलाई मुख्य कसुरदारका रूपमा कारबाहीको माग गरिएको छ।
माघ ६, २०८२ मंगलबार १६:०५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।