उम्मेदवारी मनोनयनकै दिन रवि लामिछानेसँग पर्सा जिल्ला अदालतद्वारा १ करोड धरौटी माग

उम्मेदवारी मनोनयनकै दिन रवि लामिछानेसँग पर्सा जिल्ला अदालतद्वारा १ करोड धरौटी माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रूपैयाँ धरौटी माग गरेको छ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले उनीसँग सो रकम बराबरको धरौटी माग गरेको हो।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश दिएको हो।

गत असार १ गते लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराध कसुरमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

उक्त मुद्दामा प्रतिवादीहरूविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।

मुद्दाको तारेखका लागि आजै अदालतमा उपस्थित भएका लामिछाने आदेश लगत्तै चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गर्न प्रस्थान गरेका छन्।

माघ ६, २०८२ मंगलबार १५:५१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।