मन्त्रीबाट राजीनामा दिएका महावीर पुन उम्मेदवारी दर्ता गर्न म्याग्दीमा

मन्त्रीबाट राजीनामा दिएका महावीर पुन उम्मेदवारी दर्ता गर्न म्याग्दीमा

म्याग्दी : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका महावीर पुनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। मङ्गलबार म्याग्दीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन्। 

निर्वाचनमा प्रतिस्पर्धा गर्न मन्त्री पदबाट राजीनामा दिने पुन चौथो मन्त्री हुन्। यसअघि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता र उर्जामन्त्री कुलमान घिसिङले चुनाव लड्नकै लागि आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।

आफ्नो उम्मेदवारी कुनै दलप्रति लक्षित नभई देश विकासको नयाँ अभियान भएको उनको भनाई छ। मनोनयनको क्रममा पुनले स्थापित राजनीतिक दलहरूबाट देशको विकास हुन नसकेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए। 

"पुरानाले त ३५ वर्षसम्म केही गरेनन्। नयाँले केही गर्छन् कि!," उनले भने, "यिनले के गर्छन्, अब पछि थाहा हुन्छ। म चाहिँ अहिले कुनै पनि पार्टीको कुरा सुन्दिनँ। पुछार हुँदिन।"

पुनले मन्त्री पदबाट तीन दिनअघि नै राजीनामा दिएको भए पनि मङ्गलबार मात्र सार्वजनिक भएको थियो। राजीनामा दिनुअघि उनले आफूले प्राप्त गरेका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवमार्फत सरकारलाई हस्तान्तरण गरेको जानकारी गराएका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, "मैले पाएको सम्पूर्ण अन्तर्राष्ट्रिय र राष्ट्रिय पदकहरू नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचिवज्यूमार्फत दान गरियो।"

माघ ६, २०८२ मंगलबार १२:०६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।