कांग्रेसको आधिकारिकता विवाद : आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष
काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ। निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको कार्यसमितिलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेको शेरबहादुर देउवा पक्ष उक्त निर्णय बदरको मागसहित आइतबार सर्वोच्च अदालत पुगेको छ।
पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीका अनुसार नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर देउवा पक्षीय टोली सर्वोच्च अदालत पुगेको छ। उनअनुसार रिट निवेदन अहिले सर्वोच्च प्रशासनमा पेस भई दर्ताको प्रक्रियामा रहेको छ।
रिटमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको समितिलाई दिएको आधिकारिकता खारेज गर्न माग गरिएको छ। देउवा पक्षले विशेष महाधिवेशन पक्षधरले पार्टीको विधि र विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको जिकिर गरेको छ।
विधान विपरीत बोलाइएको महाधिवेशन र त्यसबाट निर्वाचित कार्यसमिति अवैधानिक हुने दाबीसहित देउवा पक्षले आयोगको निर्णयलाई चुनौती दिएको हो। रिट दर्ता गराउन नेता खड्कासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतका नेताहरू र कानुनी सल्लाहकारहरू सर्वोच्च पुगेका छन्।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। सोही समितिलाई निर्वाचन आयोगले आधिकारिक ठहर गरेको थियो। आयोगको निर्णय लगत्तै शनिबार सानेपामा बसेको देउवा पक्षीय विघटित केन्द्रीय समितिको बैठकले उक्त निर्णय नमान्ने निष्कर्ष निकाल्दै सर्वोच्च अदालत जाने निर्णय गरेको थियो।
माघ ४, २०८२ आइतबार ११:४१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।