कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित, बहुमतको आधारमा गगन पक्षले पायो दलको मान्यता

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित, बहुमतको आधारमा गगन पक्षले पायो दलको मान्यता
विशेष महाधिवशेनको विवरण अध्यावधिक गर्न विवरण बुझाउँदै गगन थापा।

काठमाडौं : निर्वाचन आयोगले बहुमतको आधारमा गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै उनीहरूले आयोगमा बुझाएको अद्यावधिक विवरण स्वीकार गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनबाट नेतृत्व चयन भएसँगै विभाजित भएका शेरबहादुर देउवा र गगन समूह निर्वाचन आयोग गएका थिए।

आयोगले शुक्रवारै निर्णय गर्ने संकेत पाएर दुवै पक्षका समर्थकहरू आयोग अगाडि पुगेर धर्नामा बसेका थिए। आयोगको बैठकमा एक मत भने हुन सकेन। तीन जनामध्ये कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर राणा पक्षमा उभिए।

जानकी तुलाधर भने संस्थापन समूहको दाबीको पक्षमा उभिएकी थिइन्। अन्तमा तीन जना मध्ये दुई जनाको निर्णयले गगन समूहले बुझाएको विवरण अद्यावधिक गर्ने निर्णय गर्दै उनीहरूलाई नै मान्यता दियो। आयोगको निर्णयसँगै प्रशासनिक रूपमा थापा समूहले मान्यता पाएको छ। अब देउवा समूहसँग आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने कानुनी विकल्प भने बाँकी छ।

थापा पक्षले दलको विवरण अद्यावधिक गर्न बिहीबार आयोग पुगेर निवेदन दिएका थिए। कांग्रेसको संस्थापन पक्ष  शुक्रवार आयोग गएर अन्यथा निर्णय नगर्न आग्रह गर्दै आफ्नो पक्षको प्रमाण बुझाएको थियो। दिउस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर आयोगबाट अन्यथा निर्णय भए आन्दोलन गर्न भातृ संगठनलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्देशन दिएका थिए।

माघ २, २०८२ शुक्रबार २०:११:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।