रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग सच्याउन महान्यायाधिवक्ता स्वीकृति
काठमाडौं : महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ।
महान्यायाधिवक्ता कार्यालयको बुधवार जिल्ला अदालत कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालयलाई रवि विरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा दायर भएको अभियोग पत्रबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउन स्वीकृत दिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहलमा रविमाथिको दुई अभियोग संशोधन गर्न महान्यायाधिवक्ता सविता भण्डारीलाई निर्देशन दिएकी थिइन्। सोही अनुसार बुधवार भण्डारीले नै अभियोगबाट सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग हटाउन स्वीकृत दिने निर्णय गरेकी हुन्। तयारीबारे उकेराले मंगलबार खुलासा गरेको थियो।
प्रारम्भमा सरकारबाटै यी मुद्दा नै फिर्ताको प्रक्रिया अगाडि बढे पनि मुद्दा फिर्ता लिन कानुनी जटिलता देखेपछि अभियोग पत्र संशोधनको गृहकार्य भएको थियो। रविले अभियोग पत्र संशोधन गरेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग हटाउन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यही निवेदनका आधारमा बुधवार महान्यायाधिवक्ता सविता भण्डारीले तीनमध्ये दुई अभियोग फिर्ता लिन स्वीकृति दिएको हो।
अब अभियोग पत्र संशोधन गर्ने या नगर्ने भन्ने निर्णय सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयले गर्नेछ। यदि अभियोग पत्र संशोधन भएर सम्पत्ति शुद्धीकरण र संगठित अपराध हटेमा उनीमाथि सहकारी ठगीको मात्र अभियोग कायम रहनेछ। उनी ठगी अभियोगमा एक जिल्लामा सम्भावित बिगो स्विकारेर थुनामुक्त भएका छन् भने अन्य जिल्लाबाट धरौटीमा रिहा भएका हुन्।
पुष ३०, २०८२ बुधबार १९:१९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।