देउवाबाट धोकाको शंकामा मङ्गलवारै आयोगमा पुगेको थियो विशेषको पत्र

देउवाबाट धोकाको शंकामा मङ्गलवारै आयोगमा पुगेको थियो विशेषको पत्र

काठमाडौं : आफूहरूलाई वार्तामा अलमल्याएर अन्तमा धोका दिनसक्ने आशङ्कामा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले मङ्गलवारै निर्वाचन आयोगमा विशेष महाधिवेशन भएकोबारे पत्र दिएको खुलेको छ।

बुधवार विशेष महाधिवेशन पक्षले पठाएको आठ बुँदे प्रस्तावमा छलफल गर्न बसेको केन्द्रीय समितिको बैठकले एकाएक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँगै सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो।

लगत्तै देउवा र शेखर कोइराला पक्षबाट आयोगमा पार्टीको कुनै विशेष महाधिवेशन आयोजना नगरिएको भन्दै पत्र पठाएका थिए। उता विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनको माग गरिएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको निवेदनसँगै विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधीहरुको उपस्थितसहितको प्रमाणसहित मङ्गलवारै विवरण आयोगमा बुझाइसकेको थियो।

निर्वाचन आयोगका  सूचना अधिकारी सुमन घिमिरेले पनि विशेष महाधिवेशन पक्षधरले एक-दुई दिन अघि नै हामी महाधिवेशन गर्दै छौ भन्ने जानकारी दिएको बताए। उनका अनुसार विशेष पक्षधरले  कागजात सहित जानकारी दिएका थिए। संस्थापन पक्षधरले आज बुधवार केही गतिविधि नगरेको भन्दै जानकारी दिएको उनले बताए।

पुष ३०, २०८२ बुधबार १८:३८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।