२३ वर्ष अगाडि गिरीजाले पार्टीबाट निकालेको बदला देउवाले गगन-विश्वसँग लिए

२३ वर्ष अगाडि गिरीजाले पार्टीबाट निकालेको बदला देउवाले गगन-विश्वसँग लिए

काठमाडौं : २०५९ असार ४ मा विशेष महाधिवेशन गर्दै पार्टीको सभापतिबाट गिरिजाप्रसाद कोइरालालाई हटाउने असफल प्रयास गरेका शेरबहादुर देउवाले विशेष महाधिवेशनको आयोजना गरेको भन्दै बुधवार पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई पाँच वर्ष पार्टीबाट निकाल्ने निर्णय गराए।

२०५९ मा संसद् विघटनको विवादमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी निर्णयको अवज्ञा गरेको भन्दै शेरबहादुर देउवालाई तीन वर्षका लागि पार्टीबाट निष्कासित गरेका थिए। लगत्तै शेरबहादुरले महाधिवेशन बोलाएर गिरिजाप्रसाद कोइरालालाई पार्टीबाट निष्कासन गरेको निर्णय गरेका थिए। उनी पक्षधर महाधिवेशनले शेरबहादुरलाई सभापतिमा निर्वाचित गरे पनि पछि निर्वाचन आयोगले मान्यता नदिए पछि पार्टी विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए।

२०५९ मा पार्टी विभाजनको मुख्य कारण संसद् विघटन र संकटकाल लम्ब्याउने विषयमा प्रधानमन्त्री देउवा र पार्टी सभापति कोइरालाबीच उत्पन्न गहिरो विवाद थियो। यही विषयमा पार्टीले प्रधानमन्त्री देउवालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि देउवा समूहले छुट्टै भेला बोलाएर शक्ति प्रदर्शन गरेको थियो।

अहिलेको विवाद पार्टी नेतृत्व फागुन २१ को निर्वाचन पछि कि अगाडि, नियमित अधिवेशन कि विशेष महाधिवेशन भन्ने हो। भदौको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक अवस्था अनुसार पार्टीको नेतृत्व बदलेर जान पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले दबाब बढाएका थिए। 

उनीहरुले मुख्य विषय पार्टी नेतृत्व बदल्ने बनाएका थिए। तर शेरबहादुर देउवापक्ष राजी नभएपछि विशेष महाधिवेशन अगाडि बढ्यो। निर्वाचनका लागि मनोनयनसँगै सहमतीको संवाद जारी रहेकै बेलामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शेखर कोइराला पक्षधर केन्द्रीय समितिको बैठक राखेर विशेष महाधिवेशनको पक्षमा लाग्ने नेताहरूलाई पाँच वर्ष निष्कासन गर्ने निर्णय गर्यो। बैठकको निर्णयबारे पार्टी उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराएका थिए।

२०५९ मा नेपाली कांग्रेस विभाजित भएको समाचार।यता आफ्नो पक्षका पदाधिकारीहरूको बैठक राखेर गगन-विश्वलाई कारबाहीको निर्णय गरे लगत्तै उनीहरूले निर्वाचन आयोगमा नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको जानकारीसहितको पत्र बुझाएको थियो। यता विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन आधिकारिक रहेको भन्दै आधिकारिक पार्टी आफूहरूकै हुने दाबी गरिरहेका छन्।

विशेष महाधिवेशन र नयाँ नेतृत्वको उदय
कांग्रेस केन्द्रीय समितिले महामन्त्रीद्वय थापा र शर्मालाई 'अनुशासन उल्लंघन' गरेको र पार्टीको हित विपरीत गतिविधि सञ्चालन गरेको अभियोग लगाउँदै कारबाहीको निर्णय गर्यो। देउवा पक्षले पार्टीको संस्थागत मर्यादा बाहिर गएर समानान्तर गतिविधि गरेको दाबी गरेको छ।

विशेष महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अगाडि बढिसकेको छ। सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको छ।पार्टीबाट निष्कासनको घोषणा लगत्तै महामन्त्री गगन थापाले पार्टी नेतृत्वको स्वेच्छाचारिता अब सहेर नबस्ने बताए। उनले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको र आफूले इतिहास बनाएको र आन्दोलन हाँकेको पार्टी भएको बताए।


विश्वले भृकुटीमण्डपमा आयोजित भेलामा सम्बोधन गर्दै पार्टीको पहिलो विशेष महाधिवेशन गर्दा मतदाताले पुरस्कृत गरेको भन्दै आफूहरूलाई कसैले कारबाही गर्न नसक्ने बताए।

पुष ३०, २०८२ बुधबार १७:०१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।