सहमतिको अन्तिम विकल्प भन्दै विश्वप्रकाशले पठाए आठ बुँदे प्रस्ताव, छलफलमा संस्थापन

सहमतिको अन्तिम विकल्प भन्दै विश्वप्रकाशले पठाए आठ बुँदे प्रस्ताव, छलफलमा संस्थापन

काठमाडौं : विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अन्तिम विकल्पको रूपमा आठ बुँदे प्रस्ताव पठाएपछि सानेपामा केन्द्रीय समितिको बैठक राख्न पुगेको संस्थापन पक्षको टिम आन्तरिक छलफलमा जुटेको छ। विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडि बढाए पनि महामन्त्री विश्वप्रकाश शर्माले सहमतिको अन्तिम विकल्प भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आठ बुँदे प्रस्ताव पठाएका थिए।

शर्माले पठाएको प्रस्तावमा शेरबहादुर देउवा सभापतिको रूपमा निष्क्रिय बसेर कार्यवाहक सभापतिलाई सबै अधिकार प्रत्योजन गर्नेदेखि फागुन २१ को निर्वाचनमा गगन थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेसम्मको प्रस्ताव छन्।

उकेराले प्राप्त गरेको आठ बुँदे प्रस्तावमा विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, महाधिवेशनबाट पारित प्रस्तावहरू कार्यान्वयन गर्नुपर्ने, देउवा सभापतिले भूमिकामा निष्क्रिय रहनु पर्ने र फागुन २१ मा पार्टीको आधिकारिक उम्मेदवारको पत्रमा उनले हस्ताक्षर नगर्ने, संसदीय बोर्ड गठन गरेर उम्मेदवार चयन गर्नुपर्ने उल्लेख छ।

यसैगरि, फागुन २१ को निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने, पार्टीबाट पहिल्यै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा हुनुपर्ने, नियमित महाधिवेशन नभएसम्मका लागि पार्टीको महत्वपूर्ण निर्णय गर्न पाँच जना सम्मिलित उच्चस्तरीय समिति गठन गर्नुपर्ने र फागुन २१ को निर्वाचनमा दुवै पक्ष एक ढिक्का भएर जानुपर्ने छन्।

सहमतिका लागि भन्दै बुधवार बिहान सभापति शेरबहादुर देउवासँग गगन थापा र विश्वप्रकाश शर्माले एक घण्टा छलफल गरेका थिए। छलफलमा देउवा विशेष महाधिवेशनको प्रस्तावहरू संशोधनसहित स्वीकार गर्न र उम्मेदवारको पत्रमा हस्ताक्षर नगर्न राजी भएका थिए। उनले कार्यवाहक सभापति तोकिसकेकाले आफू निष्क्रिय नै रहेको बताए पनि पार्टीबाट भावी प्रधानमन्त्रीको नाम पहिल्यै तोकेर जान सहमत भएका थिएनन्। त्यसपछि गगन र विश्व भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनस्थल आएर सभापति र महामन्त्रीमा उम्मेदवारी दिएका थिए।

पुष ३०, २०८२ बुधबार १४:४४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।