सभापतिबाट राजीनामाको विकल्पमा ‘निष्क्रिय’ बस्ने प्रस्तावमा छलफल गर्न गएका देउवाका प्रतिनिधि फर्किएनन्

सभापतिबाट राजीनामाको विकल्पमा ‘निष्क्रिय’ बस्ने प्रस्तावमा छलफल गर्न गएका देउवाका प्रतिनिधि फर्किएनन्

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनले पारित गरेको नीति स्वीकार गर्न संस्थापन र शेखर कोइराला पक्ष सहमत भए पनि शेरबहादुर देउवाको राजीनामाको सर्त थपिएपछि सहमतिका लागि मंगलबार दिनभर भएको छलफल निष्कर्षमा पुगेन।

विशेष महाधिवेशनले नीतिसँगै नेतृत्व पनि परिवर्तनको माग गरेकाले नियमित महाधिवेशन अगाडिसम्मका लागि देउवाले सभापति पदबाट राजीनामा नदिए विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले स्वीकार नगर्ने भन्दै विशेषका प्रतिनिधिहरूले छलफलमा प्रस्ताव राखेका थिए।

उनीहरूले बैठकमा राखेको विशेष महाधिवेशनको आयोजना र पारित भएको नीतिको स्वामित्व लिनुपर्ने सर्त संस्थापन र शेखर दुवै समूहले स्वीकार गरेका थिए। तर जब सभापतिबाट देउवाको राजीनामा, कार्यवाहक सभापति वा शशाङ्क कोइरालाको हस्ताक्षरमा फागुन २१ को निर्वाचनको टिकट वितरण, संसदीय बोर्डमा सबै पक्षको प्रतिनिधित्व लगायतका प्रस्ताव थपेका थिए।

अन्य प्रस्तावमा संस्थापन पक्ष लचिलो भए पनि देउवाको राजीनामाको सर्तमा आएर छलफल अड्किएको एक नेताले बताए। यो प्रस्तावमा शेखर कोइरालातर्फबाट छलफलमा सहभागी प्रतिनिधि मौन नै रहे। तर देउवाको तर्फबाट सहभागी रमेश लेखक र बालकृष्ण खाणले भने ‘नियमित महाधिवेशनबाट नेतृत्व छाड्न तयार भएका सभापतिलाई तत्काल राजीनामा दिन लगाउनु अपमान हुने’ तर्क गरे।

छलफलकैक्रममा देउवाले राजीनामा पनि दिनु नपर्ने तर उनी अबका दिनमा पार्टीको निर्णयमा सक्रिय पनि नहुने विधिको खोजी भएको थियो।

छलफलकोक्रममा वैशाखमा नियमित महाधिवेशन हुने प्रतिविद्धतासहित देउवा सभापति पदमै रहे पनि निष्क्रिय रहने र पार्टीको महत्वपूर्ण निर्णय सामूहिक आधारमा लिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, शशाङ्क कोइराला र दुई महामन्त्रीसहितको उच्चस्तरीय समिति गठन गर्नुपर्ने सर्त अगाडि सारियो।

राजीनामाको साटो निष्क्रिय बस्ने प्रस्तावप्रति देउवातर्फबाट छलफलमा सहभागी दुवै नेता केही सकारात्मक देखिएपछि उनीहरू देउवा र खड्कासँग छलफलपछि मात्रै यसबारे आफूहरूले निर्णय दिनसक्ने भनेर निस्किएका थिए। एक घण्टापछि पुन छलफलमा बस्ने भनेर निस्किएका देउवा र शेखरका प्रतिनिधि फर्किएका छैनन्।

छलफलमा देउवाको समूहबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन्। शेखरको समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल छन् भने विशेष महाधिवेशनको पक्षबाट देवराज चालिसे, मधु आचार्य, प्रदीप पौडेल छन्।

पुष २९, २०८२ मंगलबार २१:४७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।