रास्वपा-उज्यालो नेपालको करबलको मिलन १२ दिनमै ब्रेकअप, कुलमानले अपमान र धोका दिएको भन्दै खुलाए ७ कारण
काठमाडौं : समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने अन्तिम दिन उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ बौद्धमा रहेको एक होटलमा बसेर सूची फाइनल गरिरहेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकताको छलफल टुंगिएपछि निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न उनी एक सय १० जना समानुपातिक उम्मेदवारको नाम छानिरहेको बेलामा जेनजी आन्दोलनपछि अगुवाका रूपमा देखिएका सुधन गुरुङ होटलमा पुगे।
उनले प्लिज दाइ एक पटक जाऊँ न भन्दै हातै समातेर आफ्नै गाडीमा राखेर उनलाई लिएर सिधै आसिफ साहको कार्यालयमा पूर्याए जहाँ बालेन शाहदेखि रवि लामिछानेसम्म उनको प्रतीक्षामा थिए। बालेन शाहको समूहसँगै रास्वपा प्रवेशका लागि भएको वार्ता भङ्ग भएसँगै आफ्नै तयारीमा रहेका कुलमान र रास्वपाबीचमा सातबुँदे सहमति भयो जसमा कुलमान उपसभापतिसहित रविपछिको दोस्रो वरियतामा रहने उल्लेख थियो।
यो बिचमा बालेन समूहकाहरु रास्वपाको केन्द्रमा समायोजन भए। थरुहटका नेताहरूसँगै विवेकशील साझाका नेताहरूले समेत केन्द्रीय समितिमा स्थान पाए। तर कुलमान समूह समेटिएन। निर्वाचन आयोगमा दर्ता भएको दलबीच एकता हुनका लागि दुवै दलको केन्द्रीय समितिबाट अनुमोदन आवश्यक थियो। तर न उज्यालोले एकता गर्ने निर्णय नै गरेको थियो न रास्वपाले।
जब कुलमानले मन्त्री पदबाट राजीनामा दिए त्यसपछि समायोजनको प्रक्रिया टुङ्ग्याउने दाबी गर्दागर्दै शनिवार रास्वपाको कार्यसम्पादन समितिको बैठकले उज्यालो नेपालसँगको एकता अनुमोदन नगर्ने निर्णय गर्यो। लगत्तै उज्यालोले केन्द्रीय समितिको बैठक राखेर अध्यक्षमा कुलमानलाई नियुक्त गर्दै पत्रकार सम्मेलन गरेर अब आफ्नै तरिकाले संगठित हुने घोषणा गर्यो।
कुलमानले मन्त्री पदबाट राजीनामा दिँदा नै रास्वपासँगको एकता सङ्कटमा पुगेको संकेत दिइसकेका थिए। उनले अब राजनीतिमा सक्रिय हुने बताउँदा उज्यालो अभियानसहित भने। अनि रास्वपासँगको एकतामा भएको सहमति अनुमोदन नभएको बताएका थिए।
यसले रास्वपा र कुलमानबीच जवर्जस्ती भएको एकता डिलमा पुगेको खुलिसकेको थियो। पहिला औपचारिक घोषणा कसले गर्छ भन्ने चासोका बिच पहिला रास्वपाले नै पटक पटक पदहरूबारे बार्गेनिङ गरेको र हरेक पटक माग बदलेको आरोप लगाउँदै एकता भङ्ग गर्यो। कुलमानले त पत्रकार सम्मेलन गरेर आरोपको चाङ नै लगाए।
उनले पत्रकार सम्मेलनमा रास्वपासँगको सम्बन्ध टुट्नुका ७ कारण यसरी खुलाए।
१२ दिन अत्यन्तै पीडादायी र हीनताबोध
कुलमानले रास्वपासँगको एकता अत्यन्तै पीडादायी भएको बताए। देशको परिस्थिति, जेनजीहरुको मर्म र नयाँ शक्ति एक हुनुपर्छ भन्ने जनभावनाको कदर गर्दै सबै त्यागेर लचकताका साथ एकतामा सहभागी भएको उनको दाबी थियो। उनले एकता प्रक्रिया अत्यन्तै हीनताबोधका साथ अगाडि बढाउने अवस्था आएको दाबी गरे।
एकतर्फी रूपमा सहमति भङ्ग
घिसिङका अनुसार उज्यालो नेपाल सहमतिको प्रयासमै थियो। साधारण सदस्य बस्न समेत नेताहरू राजी थिए। तर पुस १४ गते भएको भद्र सहमतिलाई रास्वपाले १२ दिनपछि (२६ गते) एकतर्फी रूपमा तोड्यो। अन्तिम समयसम्म पनि प्रक्रिया टुङ्ग्याएर अगाडि बढ्ने पक्षमा रहे पनि रास्वपाले नै सहमति भङ्ग भएको जानकारी दिएको उनको दाबी छ। अर्थात् एकता उज्यालोले हैन रास्वपाले तोडेको हो।
रणनीतिक रूपमा "इंगेज" मात्र गराइयो
रास्वपाले एकताको प्रक्रियालाई १२ दिनसम्म लम्ब्याएर उज्यालो नेपाल पार्टीलाई अन्योलमा राखेको र यसको चुनावी अभियानलाई ब्लक गरेको घिसिङले आरोप लगाए। यस बिचमा रास्वपाले विभिन्न ठाउँमा पार्टी प्रवेश कार्यक्रमहरू राखेर उज्यालो नेपालका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने काम गरेर अन्तमा एकता प्रक्रिया तोडेर धोका दिएको कुलमानले दाबी गरे।
सैद्धान्तिक र पूर्वक सम्झौतामा धोका
कुलमानका अनुसार उज्यालो नेपालले समावेशिता, संघीयता र संविधानका आधारभूत विषयहरूमा "पूर्व सम्झौता" गर्न प्रस्ताव गरेको थियो। रास्वपासँगको सहमतिसँगै उज्यालोका नेताहरूले गणतन्त्र, संघीयता र पहिचानको मुद्दासहित धर्म निरपेक्षताका सवालमा धारणा मागेको थियो। यसबारे पटक पटक छलफल पनि भएको थियो। सुरुमा रास्वपा यसमा सहमत भए पनि पछिल्लो चरणमा यस्तो सम्झौता गर्न तयार नभएको कुलमानको दाबी छ।
पदको बार्गेनिङको गलत प्रचार
रास्वपाले औपचारिक रूपमा उज्यालो नेपालसँगको सहमति भङ्ग भएको मात्र सार्वजनिक गरेको छ। तर कारणहरू खुलाएको छैन। तर पार्टीका नेताहरूको स्रोत उल्लेख गर्दै घिसिङले समानुपातिक देखि प्रत्यक्षसम्ममा अनि पार्टी पदाधिकारीहरूका बारेमा बार्गेनिङ गर्ने र हरेक पटक माग थप्ने गरेकाले एकताको सहमति अनुमोदन गर्न नसकिएको दाबीहरू आइरहेका छन्। तर कुलमान आफूले ठूलो पद वा प्रधानमन्त्री मागेर एकता नभएको भन्ने दाबी "सरासर गलत" भन्दै आफू रास्वपाको साधारण सदस्य मात्र भएर बस्न पनि तयार रहेको तर आफ्ना केन्द्रीय सदस्य साथीहरूको उचित व्यवस्थापन खोजेको दाबी गरे।
लचकतालाई कमजोरी ठानियो
उनले रास्वपासँगको एकतापछि उज्यालो नेपाल पार्टीका तर्फबाट अधिकतम लचकता र त्याग गर्न तयार रहेको तर त्यसलाई रास्वपाले कमजोरीको रूपमा लिएको घिसिङको दाबी छ। उनले रास्वपासँगको एकता प्रक्रिया आफ्नो लागि निकै पीडादायी क्षण रहेको समेत बताए। एकता प्रक्रियामा अपमानबोध भएको समेत बताए।
अन्योलमा राखेर धोका
घिसिङले रास्वपाले उज्यालो नेपाललाई १२ दिनसम्म एउटा "विलखबन्धन र अन्योल" मा राखेर अन्ततः धोका दिएको र एकतर्फी रूपमा बाहिर निकालेर एकता टुटाएको भन्दै रास्वपासँगको एकतामा छुटेको समानुपातिक व्यवस्थापनको प्रयास गर्ने र सम्भव नभए प्रत्यक्षमा मात्र सहभागी हुने बताए।
पुष २७, २०८२ आइतबार ००:११:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।