४० लागे यश : ३०० रुपैयाँ बोकेर घर छोडेका ‘रकी भाइ’ करोडौंको मालिक, तर बुवाले अझै छोडेनन् ड्राइभरी
एजेन्सी : ‘केजीएफ’ र ‘केजीएफ २’ जस्ता ब्लकबस्टर चलचित्रमार्फत बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्दै करोडौं दर्शकको मन जित्न सफल सुपरस्टार यश (रकी भाइ)ले आज आफ्नो ४०औं जन्मदिन मनाउँदैछन्।
पर्दामा जति दमदार उनको अभिनय देखिन्छ, उनको वास्तविक जीवनको संघर्ष पनि उत्तिकै प्रेरणादायी छ। एक सामान्य परिवारबाट आएका यशका बुबा बस ड्राइभर थिए, र यशको फिल्मसम्मको यात्रा थिएटरको भुइँ पुछ्ने र चिया खुवाउने कामबाट सुरु भएको थियो।
बस ड्राइभरको छोराको सामान्य बाल्यकाल
सन् १९८६ जनवरी ८ मा कर्नाटकको हासन जिल्लामा जन्मिएका यशको वास्तविक नाम नवीन कुमार गौडा हो।
ज्योतिषीय कारणले उनको अर्को नाम यशवन्त राखिएको थियो, जसलाई पछि उनले छोट्याएर ‘यश’ बनाए। यशका बुबा अरुण कुमार कर्नाटक स्टेट रोड ट्रान्सपोर्टमा बस ड्राइभर थिए भने आमा गृहिणी थिइन्। बाल्यकालमा यशले परिवारको सानो किराना पसलमा पनि सघाउने गर्थे।
१० कक्षापछि यश अभिनयमा लाग्न चाहन्थे, तर परिवारको आग्रहमा १२ कक्षासम्म पढे। सन् २००३ मा १६ वर्षको उमेरमा जम्मा ३०० रुपैयाँ बोकेर उनी सपनाको सहर बेंगलुरु पुगे। सुरुमा सहायक निर्देशक बन्न गएका उनी प्रोजेक्ट बन्द भएपछि अलपत्र परे, तर हार मानेनन्।
यश ‘बेन्का’ थिएटर ग्रुपमा आबद्ध भए। त्यहाँ उनले दिनको ५० रुपैयाँ ज्यालामा ब्याकस्टेजको काम गरे, जहाँ उनले चिया खुवाउनेदेखि भुइँ पुछ्ने र सेट बनाउने काम समेत गरे। उनी भन्छन्- ‘थिएटरले मेरो अहंकार तोड्यो र जीवनलाई सही नजरले हेर्न सिकायो।’
टिभी सिरियलबाट सुरु भएको यात्रा
यशले सन् २००४ मा ‘उत्तरायण’ नामक टिभी सिरियलबाट अभिनय सुरु गरे। त्यसपछि ‘नन्द गोकुला’ लगायतका सिरियलमा काम गर्दा उनको भेट राधिका पण्डितसँग भयो, जो पछि उनकी जीवनसाथी बनिन्।
टिभीमा नाम कमाएपछि उनलाई फिल्मको अफर आउन थाल्यो। सन् २००८ मा ‘मोग्गिना मनसु’ फिल्मबाट उनले ठूलो ब्रेक पाए, जसका लागि उनले फिल्मफेयर अवार्ड (कन्नड) पनि जिते।
सन् २०१० मा आएको ‘मोडालासाला’ उनको पहिलो सोलो हिट बन्यो। त्यसपछि ‘मिस्टर एण्ड मिसेस रामाचारी’ जस्ता फिल्मले उनलाई कन्नड सिनेमाको स्टार बनायो। तर, सन् २०१८ मा रिलिज भएको ‘केजीएफ: च्याप्टर १’ले उनलाई विश्वभर चिनायो।
प्रशान्त नील निर्देशित यस फिल्ममा ‘रकी’को भूमिकाले तहल्का मच्चायो। सन् २०२२ मा आएको ‘केजीएफ: च्याप्टर २’ले त झन् बक्स अफिसमा १२०० करोडभन्दा बढीको व्यापार गर्दै इतिहास रच्यो। यो १ हजार करोड कमाउने पहिलो कन्नड फिल्म बन्यो।
छोरा सुपरस्टार भए पनि बुबाले छोडेनन् ड्राइभिङ
यश करोडौं कमाउने स्टार बनिसक्दा पनि उनका बुबाले बस ड्राइभिङ पेसा छोडेनन्। यशका अनुसार, उनका बुबा फिल्म क्षेत्रको ग्ल्यामर र सम्मानलाई ‘अस्थायी’ मान्थे र आफ्नो पेशालाई नै धर्म ठान्थे। यशले आफ्नो सफलताको श्रेय सधैँ आफ्नो परिवार र श्रीमती राधिका पण्डितलाई दिने गरेका छन्।
यश र उनकी पत्नी राधिका ‘यशो मार्ग फाउन्डेसन’ मार्फत समाज सेवामा सक्रिय छन्। उनीहरूले कर्नाटकको कोप्पल जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा रहेको तालको पुनर्निर्माण गर्न करिब ४ करोड रुपैयाँ खर्च गरेका थिए, जसले हजारौं किसानलाई राहत मिल्यो।
अब यश सन् २०२६ मा दुई ठूला फिल्ममा देखिनेछन्। पहिलो, ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’ र दोस्रो, नितेश तिवारीको ‘रामायण’, जसमा उनी रावणको भूमिकामा देखिनेछन्। यस फिल्ममा रणवीर कपुर भगवान रामको भूमिकामा हुनेछन्।
पुष २४, २०८२ बिहीबार १०:१०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।