रामेछापको जंगलमा ७० वर्षीया वृद्धा मृत अवस्थामा फेला

रामेछापको जंगलमा ७० वर्षीया वृद्धा मृत अवस्थामा फेला

रामेछाप : रामेछापको सुनापती गाउँपालिकामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। सुनापती गाउँपालिका-३ डोग्मा बस्ने ७० वर्षीया साहिल्ली घिसिङ घर नजिकैको जंगलमा मृत भेटिएकी हुन्।

मंगलबार राति करिब ८:२० बजेको समयमा स्थानीयले घिसिङको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक घिसिङको शव उनकै घरदेखि करिब ३०० मिटर उत्तरतर्फ रहेको पुडिखोला जंगलमा घोप्टो परेको अवस्थामा भेटिएको थियो।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय वेथानबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर बराकोटीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेर शव सुरक्षित राखेको छ।

घटनाको कानुनी प्रक्रिया पूरा गर्न, मुचुल्का उठाउन तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खाँडादेवीबाट प्रहरी निरीक्षक दावा तेन्जी शेर्पाको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पुष २३, २०८२ बुधबार ०९:३७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।