भेनेजुएला आक्रमणपछि ग्रीनल्यान्ड कब्जा गर्न अमेरिकाले सैन्य बल प्रयोग गर्न सक्ने, ट्रम्पले के भने?

भेनेजुएला आक्रमणपछि ग्रीनल्यान्ड कब्जा गर्न अमेरिकाले सैन्य बल प्रयोग गर्न सक्ने, ट्रम्पले के भने?

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउन सैन्य बल (सेना) प्रयोग गर्ने लगायतका विभिन्न विकल्पमा छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसले बीबीसीलाई दिएको बयानमा ग्रीनल्यान्ड हासिल गर्नु अमेरिकाको ‘राष्ट्रिय सुरक्षाको प्राथमिकता’ भएको उल्लेख गरेको छ। 

ट्रम्पले तीन दिनअघि मात्र सुरक्षाका कारण अमेरिकालाई ग्रीनल्यान्ड ‘चाहिने’ कुरा दोहोर्याएका थिए, जसको लगत्तै यो नयाँ भनाइ बाहिर आएको हो।

मंगलबार ह्वाइट हाउसले भनेको छ, ‘राष्ट्रपति र उहाँको टोली यो महत्वपूर्ण विदेश नीति पूरा गर्न धेरै विकल्पमा छलफल गरिरहेका छन्। र पक्कै पनि, सेनाका सर्वोच्च कमान्डरका रूपमा अमेरिकी सेनाको प्रयोग गर्नु सधैं एउटा विकल्प रहन्छ।’

डेनमार्क र युरोपेली देशहरूको कडा प्रतिक्रिया
अमेरिकी भनाइप्रति डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनले कडा प्रतिक्रिया दिएकी छन्। उनले चेतावनी दिँदै भनिन्, ‘यदि अमेरिकाको तर्फबाट कुनै पनि किसिमको आक्रमण भयो भने, त्यसको अर्थ नेटो गठबन्धनको अन्त्य हुनेछ।¦

यसैबीच, मंगलबार युरोपका ६ सहयोगी राष्ट्रहरूले डेनमार्कको पक्षमा संयुक्त विज्ञप्ति जारी गरेका छन्।

बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड र स्पेनका नेताहरूले डेनमार्कसँगै मिलेर भनेका छन्, ‘ग्रीनल्यान्ड त्यहाँका जनताको हो। डेनमार्क र ग्रीनल्यान्डले मात्र आफ्नो आपसी सम्बन्ध र भविष्यबारे निर्णय गर्न सक्छन्।’

पुष २३, २०८२ बुधबार ०८:०५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।