सिनामंगलस्थित एक काठ गोदाममा आगलागी

सिनामंगलस्थित एक काठ गोदाममा आगलागी

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको एक काठ गोदाममा मंगलबार अपराह्न आगलागी भएको छ। फर्निचर र काठको गोदाममा आगो सल्किएपछि सो क्षेत्रमा धुवाँको ठूलो मुस्लो देखियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिए। उनले आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको बताए।

आगो नियन्त्रणका लागि सुरक्षा निकायको टोली दमकलसहित घटनास्थलमा पुगेको छ। यद्यपि, साँघुरो बाटोका कारण आगो निभाउन कठिनाइ देखिएको छ। घटनास्थल पुगेका दमकलमध्ये साँघुरो बाटोका कारण एउटा मात्रै गोदाम नजिक पुगेको छ भने अर्को दमकल बाटोमै रोकियो।

आगलागी स्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल नजिकै रहे पनि उडान सेवामा भने कुनै अवरोध पुगेको छैन। विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख गोपाल घिमिरेले धुवाँको मुस्लो देखिए पनि त्यसले उडान र अवतरणलाई प्रभाव नपारेको स्पष्ट पारे। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा अहिले पनि आगो निभाउने प्रयास जारी छ।  

पुष २२, २०८२ मंगलबार १६:२४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।