रास्वपाद्वारा टिकापुर घटनालाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार

रास्वपाद्वारा टिकापुर घटनालाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टिकापुर घटनालाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार गरेको छ। 

सोमबार राष्ट्रिय सभागृहमा आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभामा रास्वपा र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरूबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्दै उक्त घटनालाई राजनीतिक आन्दोलनमा स्वीकार गरेको हो।

कैलालीको टीकापुरमा सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी घटनालाई राजनीतिक आन्दोलनको रूपमा हेरिनुपर्ने माग उठ्दै आएको छ। सोही घटनाको जगमा उदाएको तत्कालीन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले उक्त घटनामा जन्मकैद सजाय पाएका थिए।

सोही दलका पूर्व नेताहरू रास्वपामा समायोजन भएका छन्। उनीहरूलाई रास्वपामा भित्र्याउन रास्वपाले टिकपुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको हो। रास्वपाको तर्फबाट पार्टी सभापति रवि लामिछाने र नागरिक उन्मुक्ति पूर्व नेतृत्वतर्फ पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डित लगायतले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा भनिएको छ, 'टिकापुर आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षासँग सम्बन्धित सबै उच्चस्तरीय आयोगको सिफारिसको उचित कार्यान्वयन गर्ने।'

त्यस्तै थारु समुदायको धार्मिक तथा सांस्कृतिक प्रणालीको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि थारु बहुल क्षेत्रलाई 'थारु संरक्षित विशेष क्षेत्र' घोषणा गर्न पहल लिने सहमति भएको छ। संविधानको धारा ५४ को उपधारा (५) को मर्म र भावना अनुरूप यसका लागि आवश्यक कानुनी तथा संवैधानिक प्रक्रिया प्रारम्भ गरिने भएको उल्लेख छ। 

पुष २१, २०८२ सोमबार १६:२८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।