चिकित्सक संघको निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश जारी
काठमाडौं : उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ।
आइतबार न्यायाधीशद्वय ऋषिपराम निरौला र दीपक खनालको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
अजय कुमार मिश्र समेतले नेपाल चिकित्सक संघ समेतलाई विपक्षी बनाई दायर गरेको ‘निषेधाज्ञा’ मुद्दामा सुनुवाइ गर्दै इजलासले संघले प्रकाशन गरेको निर्वाचन कार्यक्रम तत्काल यथास्थितिमा राख्न निर्देशन दिएको हो।
नेपाल चिकित्सक संघले असोज २० गते जारी गरेको सूचनामार्फत प्रकाशित निर्वाचन कार्यक्रम, निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ को नियम ६ मा उल्लेखित प्रक्रिया पूरा नगरी ल्याइएको अदालतको ठहर छ।
यसले गर्दा निवेदकहरूलाई उम्मेदवारी दिने लगायतका निर्वाचनमा सहभागी हुनबाट रोक लाग्ने अवस्था सिर्जना भएको आदेशमा उल्लेख छ।
अदालतले अहिलेको अवस्थामा निर्वाचनलाई अगाडि बढाउनु उपयुक्त नहुने भन्दै उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो।
अदालतले विपक्षी नेपाल चिकित्सक संघलाई यस विषयमा नियमानुसार सूचना दिई अर्को पेशीमा उपस्थित हुन समेत निर्देशन दिएको छ।

यो आदेशसँगै काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते र काठमाडौं उपत्यकामा १५,१६ र १७ गतेका लागि तोकिएको चिकित्सक संघको निर्वाचन रोकिएको छ।
पुष २१, २०८२ सोमबार ०९:००:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।