ट्रम्पले सार्वजनिक गरे भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर, युद्धपोतमा राखेर न्युयोर्क लगिँदै
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन्। भेनेजुएलामा आक्रमण गरेर अमेरिकी सेनाले मादुरो र उनको श्रीमतीलाई नियन्त्रणमा लिएको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई अमेरिकी युद्धपोतमा बन्दी बनाइएको तस्बिर सार्वजनिक गर्दै यसको पुष्टि गरेका हुन्।
सार्वजनिक तस्बिरमा मादुरोले खैरो रङको 'नाइकी' ट्र्याकसुट लगाएका छन्। उनको आँखामा कालो पट्टी बाँधिएको छ भने कानमा ठूला हेडफोनहरू लगाइएको देखिन्छ।
शनिवार बिहानै भेनेजुएलास्थित मादुरोको निवासमा अमेरिकी हेलिकप्टरहरूले छापा मारेका थिए। १५० भन्दा बढी विमान र २० वटा विभिन्न सैन्य आधार शिविरहरूको प्रयोग गरी यो 'मल्टि-एजेन्सी' अपरेसन सञ्चालन गरिएको थियो।
अमेरिकी जोइन्ट चीफका अध्यक्ष जनरल ड्यान केनका अनुसार यो अभियान महिनौँको तयारी र खुफिया जानकारीका आधारमा सफल पारिएको हो।
मार्-ए-लागोमा आयोजित पत्रकार सम्मेलनमा जनरल केनले भने, "हामीले मादुरोको हरेक चालढाल, बसाई, हिँडडुल, खानपान र पहिरन समेतको महिनौँदेखि सूक्ष्म निगरानी गरिरहेका थियौँ।" सीआईएको एउटा सानो टोलीले गत गर्मीयामदेखि नै भेनेजुएला भित्रै बसेर मादुरोको गतिविधि ट्र्याक गरिरहेको उनले खुलाए।
अब के हुन्छ?
मादुरोसँगै उनकी पत्नी सिलिया फ्लोरेसलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ, यद्यपि तस्बिरमा उनी देखिएकी छैनन्। उनीहरू दुवैलाई अहिले समुद्रमार्फत न्युयोर्क लगिँदैछ, जहाँ उनीहरूले विभिन्न आपराधिक अभियोगमा अदालती ट्रायलको सामना गर्नुपर्नेछ।
जनरल केनले यसलाई "वेल-ओइल्ड मेसिन" को संज्ञा दिँदै अमेरिकी सैन्य शक्तिको ठूलो सफलता बताएका छन्।
मादुरोलाई नियन्त्रणमा लिने क्रममा केही समय दोहोरो भिडन्त भएको थियो। जनरल केनका अनुसार अमेरिकी सेनाले आत्मरक्षाका लागि जवाफी कारबाही गर्नुपरेको थियो। उक्त क्रममा केही अमेरिकी सैनिक घाइते भए तापनि उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।
पुष १९, २०८२ शनिबार २३:३७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।