विवादपछि रास्वपाका समानुपातिकका उम्मेदवारले नाम फिर्ता लिन थाले, अधिकांश बालेन समूहका

विवादपछि रास्वपाका समानुपातिकका उम्मेदवारले नाम फिर्ता लिन थाले, अधिकांश बालेन समूहका

काठमाडौं : समानुपातिक प्रणालीको दुरुपयोग गर्दै पहुँच भएका कलाकार र व्यापारीलाई सूचीमा राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भएपछि उम्मेदवारले आफ्नो नाम फिर्ता लिन थालेका छन्।

नाम फिर्ता लिनेहरूमा बालेन शाह र कुलमान घिसिङ समूहको सूचिका हुन्। रवि लामिछानेको सूचिमा रहेकाले घोषणा गरेका छैनन्। संविधानको मर्म विपरीत सेलिब्रिटी सम्पन्न व्यापारी र सन्तानलाई सूचिमा राखेको भन्दै रास्वपाको विरोध भएको थियो।

आन्तरिक प्रतिष्पर्धामा दलिततर्फ सबैभन्दा धेरै मत ल्याउनेलाई समानुपातिक सूचिमा नराखेको भन्दै डा रामजी रामले सामाजिक सञ्जालबाट बरु आफ्नो नाम हटाएर विजय जैरूको राख्न लेखेका थिए। तर उनले समानुपातिक छाडेका भने छैनन्।

समानुपातिकमा दाजुभाइ पालैपालो बसेको भन्दै आलोचना बढेपछि कलाकार आशिफ साहले पनि समानुपातिकमा नबस्ने घोषणा गरे। उनले समानुपातिकबाट नाम फिर्ता लिएर काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरे।

शनिबारै गायिका तथा चिकित्सक डा त्रिशला गुरुङले पनि समानुपातिकमा नबस्ने घोषणा गरिन्। उनले कुनै दलमा आबद्ध नभई स्वतन्त्ररूपमा समाजका लागि काम गर्ने बताइन्।

संविधानले परिकल्पना गरेको समानुपातिक निर्वाचन प्रणालीको भावना र मर्मको सम्मान गर्न भन्दै चन्द्र ढकालका छोरा सचिन ढकालले पनि समानुपातिक सूचिमा नबस्ने घोषणा गरे।

पर्वतारोही टासी ल्हाक्पा शेर्पाले सूची सार्वजनिक भएकै दिन समानुपातिक उम्मेदवार बन्न अस्वीकार गरेका थिए। पहिचानको मुद्दा छाडेर रास्वपासँग सहमति गरेको भन्दै डा महेन्द्र लावतीले पनि समानुपातिकमा नबस्ने घोषणा गरेका थिए। 

व्यापारी विदुषी राणासहित गायक प्रकाश सपुत, नायिका रिमा विश्वकर्मा,पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ समानुपातिकको सूचिमा छन्। अदालतमा मुद्दा चलिरहेको अरनिको पाँडे र ज्वाला संग्रौला पनि समानुपातिकमा छन्। निर्वाचन आयोगमा बन्दसूची बुझाए पनि उम्मेदवारले चाहे पुस ३० भित्र राजीनामा दिएर नाम फिर्ता लिन सक्छन्।

पुष १९, २०८२ शनिबार २२:०३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।