भेनेजुयलाका राष्ट्रपति मदुरो कहाँ छन् ?
काठमाडौं : शनिबार बिहानै अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा ठूलो सैन्य आक्रमण गर्दै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गर्यो।
अमेरिकी विशेष सैन्य दस्ता 'डेल्टा फोर्स' ले शनिबार बिहानै काराकासस्थित मदुरोको निवास र मुख्य सैन्य आधार शिविर 'फुयर्टे ट्युना' लक्षित आक्रमण गरेको थियो। काराकासका विभिन्न भागमा कम्तीमा ७ वटा ठूला विस्फोटका आवाजहरू सुनिएको र अमेरिकी हेलिकप्टरहरू उडेको देखिएको थियो।
आक्रमणलगत्तै भेनेजुएला सरकारले देशव्यापी 'राष्ट्रिय संकटकाल' घोषणा गरेको छ। रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले यसलाई 'साम्राज्यवादी आक्रमण' भन्दै जनतालाई प्रतिरोधका लागि आह्वान गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत यसको पुष्टि गर्दै मदुरोलाई पक्राउ गरी भेनेजुएलाबाट बाहिर लगिएको जानकारी दिएका छन्। तर उनी कहाँ छन् खुलाइएको छैन।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मदुरो र प्रथम महिलाको स्थिति अज्ञात रहेको भन्दै अमेरिकाले उनीहरू जीवितै रहेको प्रमाण दिनुपर्ने माग गरेकी छिन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मदुरो अहिले अमेरिकी हिरासतमा रहेको र उनीमाथि अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाइने पुष्टि गरेका छन्।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मदुरोमाथि नार्को-आतंकवाद षडयन्त्र, कोकिन तस्करी, र घातक मेसिन गनहरू राखेको जस्ता गम्भीर अभियोगहरू लगाइएको बताएकी छन्।
किन भयो यो आक्रमण?
अमेरिकाले लामो समयदेखि मदुरोलाई लागुऔषध तस्करीको नाइके भएको र उनकै कारण लाखौं शरणार्थीहरू अमेरिका पस्न बाध्य भएको आरोप लगाउँदै आएको थियो।
पछिल्लो ४ महिनादेखि क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य गतिविधि बढिरहेको थियो, जसको नतिजास्वरूप यो कारबाही भएको देखिन्छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
रुस र इरानले यस आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भन्दै कडा निन्दा गरेका छन्। अर्जेन्टिनाको राष्ट्रपति जेभियर माइलीले "स्वतन्त्रताको जित" भन्दै ट्रम्पको यस कदमको स्वागत गरेका छन्।
संयुक्त राष्ट्र संघले यसबारे हालसम्म कुनै ठोस धारणा सार्वजनिक नगरे पनि भेनेजुएलाले सुरक्षा परिषद्को आपत्कालीन बैठक माग गरेको छ।
पुष १९, २०८२ शनिबार १९:५५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।