नयाँ जनादेशपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रचण्ड

नयाँ जनादेशपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रचण्ड

सङ्खुवासभा : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ जनादेश प्राप्त गरिसकेपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताएका छन्। शनिबार खाँदबारीमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले एक दशकको अनुभवलाई आधार मानेर सबल र दुर्बल पक्षहरूको मूल्याङ्कन गरी संशोधन गरिने बताए।

“संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौं, १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौं,” उनले भने।

प्रचण्डले देश निर्वाचनतर्फ केन्द्रित भएको बताए। उनले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए। निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताए। 

जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै प्रचण्डले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे। काठमाडौं फर्किनुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताए। 

जेनजी आन्दोलनको मर्मभावनाअनुसार अहिलेका राजनीतिक दलहरूले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उनको भनाइ छ। निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद् पुनःस्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने धारणा व्यक्त गरे। 

पुष १९, २०८२ शनिबार १७:५३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।