ट्रम्पको दाबी : भेनेजुएलामा अमेरिकी हमला, राष्ट्रपति मादुरो दम्पती पक्राउ

ट्रम्पको दाबी : भेनेजुएलामा अमेरिकी हमला, राष्ट्रपति मादुरो दम्पती पक्राउ

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई उनकी पत्नीसहित पक्राउ गरिएको दाबी गरेका छन्। राजधानी काराकासका विभिन्न सैन्य अखडामा श्रृंखलाबद्ध विष्फोट भए लगत्तै ट्रम्पले यस्तो दाबी सार्वजनिक गरेका हुन्।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा कारबाहीको पुष्टि गर्दै लेखेका छन्, "अमेरिकाले भेनेजुएला र त्यहाँका नेता, राष्ट्रपति निकोलस मादुरोविरुद्ध सफलतापूर्वक ठूलो स्तरमा हमला गरेको छ, मादुरोलाई उनकी पत्नीका साथ पक्राउ गरी देश बाहिर लगिएको छ।"

अमेरिकी सुरक्षा निकायहरूको समन्वयमा अभियान सफलतापूर्वक सम्पन्न भएको जनाउँदै उनले अगाडि भनेका छन्, "यो अपरेसन अमेरिकी सुरक्षा निकाय (ल इन्फोर्समेन्ट) सँगको समन्वयमा गरिएको थियो। यसको जानकारी चाँडै दिइनेछ। आज बिहान ११ बजे मार-ए-लागोमा एउटा पत्रकार सम्मेलन हुनेछ।"

हमला र विष्फोटपछि राष्ट्रपति निकोलस मादुरोले मुलुकभर 'राष्ट्रिय संकटकाल' घोषणा गरेका छन्। उनले अमेरिकी सैन्य कदमको कडा निन्दा गर्दै यसलाई भेनेजुएलाको प्राकृतिक स्रोतमाथि कब्जा गर्ने दाउका रूपमा चित्रण गरेका छन्।

भेनेजुएला सरकारले एक विशेष विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा भनिएको छ, "भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदायका सामु अमेरिकाको वर्तमान सरकारद्वारा भेनेजुएला विरुद्ध गरिएको अत्यन्तै गम्भीर सैन्य आक्रामकतालाई खारेज गर्दछ, यसको विरोध गर्दछ र निन्दा गर्दछ।"

बीबीसीमा उल्लेख भएअनुसार काराकासको मध्य भागमा अवस्थित सैन्य विमानस्थल 'ला कार्लोटा' र प्रमुख सैन्य अड्डा 'फुएर्ते तिउना' मा शक्तिशाली विष्फोट भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ती सैन्य क्षेत्रहरूबाट धुवाँको ठूलो मुस्लो निस्किएको देखिन्छ। 

विगत केही हप्तादेखि ट्रम्प प्रशासनले राष्ट्रपति मादुरोमाथि दबाब बढाउँदै लगेको थियो। अमेरिकाले मादुरोमाथि लागुऔषध तस्करी र अपराध फैलाएको आरोप लगाउँदै आएको छ। यता मादुरोले भने यी हमलाहरूलाई अमेरिकी "तेल र खनिजमाथि कब्जा गर्ने प्रयास" को संज्ञा दिएका छन्। 

पुष १९, २०८२ शनिबार १६:०४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।