श्रीस्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरू, शालिनदीमा मेला लाग्दै

श्रीस्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरू, शालिनदीमा मेला लाग्दै

काठमाडौं : वैदिक सनातन धर्मावलम्बीहरूको एक महिने ‘श्रीस्वस्थानी व्रत’ तथा ‘माघ स्नान’ आजदेखि सुरु भएको छ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यस पर्वमा विधिपूर्वक घर-घरमा स्वस्थानीको पूजा आराधना गर्ने, व्रत बस्ने र कथा वाचन गर्ने परम्परा छ। विशेषगरी सतीदेवीको अङ्ग पतन भएका शक्तिपीठहरूमा यो महिनाभर विशेष पूजा हुने गर्दछ।

स्वस्थानी व्रतको सुरुआत पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी शुद्ध वस्त्र पहिरिएर गरिन्छ। व्रत अवधिभर बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेव र पार्वतीको पूजा गर्ने तथा बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार र अगस्त्यमुनिबीचको संवाद (स्वस्थानी कथा) सुन्ने–सुनाउने गरिन्छ।

माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ पुष्प, १०८ पान, १०८ सुपारीलगायतका सामग्री चढाएर व्रतको उद्यापन (साङ्गे) गर्ने विधि छ। तीमध्ये आठ-आठ वटा सामग्री पति, छोरा वा मीत छोरालाई दिने र सय वटा बर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बस्ने परम्परा छ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको सल्लाहअनुसार यो व्रत बसेको धार्मिक विश्वास छ। व्रतको प्रभावले बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगबाट मुक्ति मिल्ने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रही आएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी तथा चार हात भएकी देवीलाई स्वस्थानी भनिन्छ।

‘स्वस्थानीको चार हातमध्ये पहिलोमा नीलकमल, दोस्रोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा हुन्छ’, उनले भने।

यस अवसरमा काठमाडौंको साँखुस्थित शालिनदीमा आजैदेखि एक महिने माधवनारायण मेला सुरु भएको छ। पौराणिक कथाअनुसार गोमा ब्राह्मणीले व्रत बसेपछि छोरा नवराज लावण्य देश (हालको साँखु) को राजा भएको प्रसङ्ग स्वस्थानीमा उल्लेख छ।

इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने विश्वास छ। मेला भर्न नेपालका विभिन्न भाग तथा भारतबाट समेत भक्तजनहरू आउने गर्दछन्। मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको शालिनदी व्यवस्थापन समितिले जनाएको छ।

पुष १९, २०८२ शनिबार ०७:४०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।