कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं : नेपाली कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर पार्टीको विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले बैठक बोलाएको हो। महामन्त्रीद्वयले पुस २६-२८ गतेका लागि तय भएको नियमित महाधिवेशन स्थगन भएको घोषणा गरे।
संस्थापन पक्ष विशेष महाधिवेशनका लागि तयार नभए पनि महामन्त्रीद्वयले औपचारिक रूपमै यसको प्रक्रिया अगाडि बढाएपछि पार्टीभित्र नयाँ परिस्थिति सिर्जना भएको छ।
नियमित महाधिवेशन स्थगित र विशेष महाधिवेशनको आह्वानलाई लिएर विवाद बढ्दै जाँदा शुक्रबार दिउँसो ३ बजे बस्ने कार्यसम्पादन समितिको बैठकलाई महत्त्वपूर्ण मानिएको छ।
पुष १७, २०८२ बिहीबार २१:४७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।