कांग्रेसको समानुपातिक सूची : नेताको बहिनीदेखि पिएसम्मलाई अवसर
काठमाडौँ : समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरेको भन्दै पटक पटक विवादमा आइरहने पार्टी नेपाली कांग्रेस जेनजी आन्दोलनको धक्कापछि पनि उही लयमा देखियो। यस अगाडि धनाढ्य व्यापारी, पार्टी सभापतिकी श्रीमती अनि प्रभावशाली नेताहरूलाई समानुपातिक सूचीमा राखेर सांसद बनाउँदै आएको यो दलले फागुन २१ को निर्वाचनको सूचीमा पनि त्यही प्रवृत्ति दोहोर्यायो।
यस अगाडिको विकृतिको तुलनामा कांग्रेसको सूची केही सुधारिएको छ। तर आलोचनामुक्त भने छैन। उसले यस पटक वर्तमान राष्ट्रपति, पूर्व राष्ट्रपतिको सन्तानसँगै पार्टीका नेताहरूको परिवारका सदस्यहरूलाई समानुपातिक सूचीमा राखेको छ।
कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाइएको ११० जनाको सूचीमा नेताका श्रीमती, छोराछोरी, ससुरादेखि स्वकीय सचिवसम्मको नाम समेटिएको छ।
प्रत्यक्ष निर्वाचन लड्दिन भनेर घोषणा गरेका कांग्रेसका नेता अर्जुन नरसिंह केसीको नाम यस पटक समानुपातिकमा आयो। पञ्चायतकलादेखि निरन्तर राज्य सत्तामा रहेका केसी मन्त्रीसम्म भइसकेका हुन्। तर उनी संविधानले व्याख्या गरेको समानुपातिक प्रणालीको खिल्ली उडाउँदै खस आर्यको सूचीमा बसे।
नातामा कांग्रेस महामन्त्री गगन थापाका ससुरासमेत रहेका उनको नाम समानुपातिकमा रहँदा थापाको समेत आलोचना भयो। थापाले सामाजिक सञ्जालमा यसमा आफ्नो विमति रहेको र आफ्नो सिफारिसमा उनको नाम समानुपातिकमा नरहेको दाबी गरे।
जब राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम समानुपातिक सूचीमा सार्वजनिक भयो पार्टीको आलोचना थप बढ्यो। नेपाली कांग्रेसबाट लामो समय सत्ता सुखमा रहेर पटक पटक मन्त्री भएका पौडेल २०७९ को निर्वाचनपछि राष्ट्रपति भए। जब उनको छोरीको नाम कांग्रेसको समानुपातिक सूचीमा आयो उनले पदीय दुरुपयोग गरेको भन्दै आलोचना भइरहेको छ।
यती मात्रै हैन, पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पनि समानुपातिक उम्मेदवार बने। चन्द्रमोहन कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्।
एकै परिवारबाट दुई जनासम्म
कांग्रेसबाट पटक पटक सांसद र मन्त्री भएका वर्तमान कार्यसम्पादन समितिका सदस्य बलबहादुर केसीको श्रीमती रिना उप्रेती र बहिनी गोमा केसी पनि समानुपातिक सूचीमा छन्। यी दुवै पद्मकन्या क्याम्पसको पूर्वस्ववियु सभापति र ओखलढुङ्गा कांग्रेसकी पूर्वसभापति हुन्। तर उनीहरूको अवस्था समानुपातिकबाट सांसद बन्ने तहको हैन। त्यसमा पनि एकै परिवारका दुई सदस्य सूचीमा पर्दा पदीय दुरुपयोग भएको देखियो।
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधी पनि यसमा अछुतो रहन सकेनन्। आर्थिक अनि सामाजिक दुवै रूपमा सम्पन्न परिवारका सदस्य उनको भान्जी निनु कर्ण समानुपातिक सूचीमा छिन्।
दलितको नाममा पार्टीबाट पटक पटक अवसर लिँदै आएका पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्ना स्वकीय सचिव (पिए) टेकबहादुर बिकलाई पनि समानुपातिक सूचीमा राख्न लगाए।
संविधानको मर्म विपरीत सम्भ्रान्त र सम्पन्नहरूलाई समानुपातिक सूचीमा राखेको भन्दै सबैभन्दा धेरै आलोचित भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले त्रुटि भएको स्विकार्दै आयोगले दिएको समयभित्र सूची संशोधन गर्ने बताएको छ। तर कांग्रेस आलोचनामा पनि मौन छ।
पुष १६, २०८२ बुधबार २२:५३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।