एलिजा गौतम आजपाको खस आर्यको पहिलो नम्बरमा, जेन-जी र पीडितलाई प्राथमिकता
काठमाडौं : आम जनता पार्टी (आजपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा मोडल तथा मिडिया उद्यमी एलिजा गौतमलाई खस आर्य महिलातर्फको सूचीमा पहिलो नम्बरमा राखेको छ।
पार्टीले समानुपातिक सूचीमा हालैको जेन-जी आन्दोलन, सहकारी पीडित र लघुवित्त पीडितहरूको बलियो प्रतिनिधित्व गराएको छ।
पार्टी सचिवालय सदस्य सुभाष साहका अनुसार, जेनजी सहिद परिवारबाट सहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई र जेनजी घाइते सञ्जिव सापकोटालाई उम्मेदवार बनाइएको छ। साथै, जेन-जी समुदायको तर्फबाट प्रतिमा थापामगर र मन्दिपकुमार लालसहित दर्जनौँ युवाहरू सूचीमा अटाएका छन्।
सहकारी र लघुवित्त पीडितहरूको आन्दोलनलाई साथ दिँदै आएको आजपाले उनीहरूलाई संसदमा पुर्याउने लक्ष्य लिएको देखिन्छ। लघुवित्त पीडित संघर्ष समितिका मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा र बिनु यादव तथा सहकारी पीडितका तर्फबाट देवकुमार श्रेष्ठ र रिता भट्टराई समानुपातिक सूचीमा परेका छन्।
त्यस्तै, लैंगिक अल्पसंख्यक समुदायबाट लक्ष्मी घलान र दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारीलाई पनि उम्मेदवार बनाइएको छ। मुस्लिम समुदायबाट लालबाबु मंसुरी, आसमहम्द मियाँ, रहेना खातुन लगायतको नाम समावेश छ।
आम जनता पार्टी, जनादेश पार्टी, जेनजी आन्दोलनकारी तथा विभिन्न पीडित संघर्ष समितिहरूले संयुक्त मोर्चा बनाई आजपाको चुनाव चिन्ह 'मोबाइल' बाट निर्वाचनमा भाग लिने भएका छन्। आजपाले आयोगमा ११० जनाकै पूर्ण नामावली बुझाएको छ।
पुष १६, २०८२ बुधबार १०:३०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।