खालिदा जियाको निधन भए पनि बंगलादेशको चुनाव नसर्ने, १२ फेब्रुअरीमै मतदान हुने

खालिदा जियाको निधन भए पनि बंगलादेशको चुनाव नसर्ने, १२ फेब्रुअरीमै मतदान हुने

ढाका : बंगलादेशका निर्वाचन आयुक्त अब्दुर रहमानेल मसुदले बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको निधन भए पनि निर्वाचन तालिकामा कुनै परिवर्तन नहुने बताएका छन्।

आयुक्त मसुदले मंगलबार अगरगाउँस्थित निर्वाचन भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘उहाँले उम्मेदवारी दर्ता गराउनुभएको सबै सिटमा सोही पार्टीका वैकल्पिक उम्मेदवारहरूलाई पनि स्थान दिइएको छ। त्यसैले उम्मेदवारीको विषय स्वतः समाधान हुनेछ।’

मसुदले खालिदा जियाको उम्मेदवारी परेका निर्वाचन क्षेत्रहरूमा पनि मतदान प्रक्रिया वा मितिमा कुनै फेरबदल नहुने स्पष्ट पारेका छन्।

बीबीसी बांग्लाका अनुसार, आगामी चुनावका लागि खालिदा जियाले बोगरा, फेनी र दिनाजपुर गरी तीन सिटबाट उम्मेदवारी दिएकी थिइन्।

सोमबार मनोनयन दर्ताको अन्तिम दिन उनको पार्टीका नेता तथा कार्यकर्ताहरूले ती सिटहरूमा उम्मेदवारी पत्र बुझाएका थिए।

बंगलादेशकी पूर्वप्रधानमन्त्री समेत रहेकी खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिइन्।

बंगलादेशमा आगामी फेब्रुअरी १२ मा राष्ट्रिय निर्वाचन हुँदैछ

पुष १६, २०८२ बुधबार ०७:२७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।