मन्त्री खरेलद्वारा एनसेलको भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन
पोखरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पोखरास्थित एनसेलको डाटा सेन्टरमा ‘भोल्टे’ क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन गरेका छन्।
आइतबार आयोजित एक कार्यक्रमबीच मन्त्री खरेलले अत्याधुनिक सर्भरमार्फत सेवा विस्तारको औपचारिक आरम्भ गरेका हुन्।
यो क्षमता विस्तारसँगै अब एनसेलले उक्त डाटा सेन्टरमार्फत ५० लाख सक्रिय ग्राहकलाई उच्च गुणस्तरको भोल्टे र भोवाइफाइ सेवा प्रदान गर्न सक्ने जनाइएको छ।
भोल्टे प्रविधिले हाइ डेफिनिसन भ्वाइस र छिटो कल कनेक्ट हुने सुविधा दिन्छ भने भोवाइफाइले मोबाइल नेटवर्क कमजोर भएको स्थानमा पनि वाइफाइको प्रयोग गरी कल गर्न सकिने सुविधा प्रदान गर्छ।
डाटा सेन्टरको अवलोकन गर्दै मन्त्री खरेलले एनसेलको पूर्वाधारले ‘डिजिटल नेपाल’ निर्माणको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे।
सन् २०१२ मा स्थापित यो डाटा सेन्टर एनसेलको ‘डिजास्टर रिकभरी सेन्टर’ को रूपमा समेत सञ्चालित छ। कार्यक्रममा एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले परियोजनाबारे जानकारी गराएका थिए।
पुष १५, २०८२ मंगलबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।