शेचेन गुम्बाका विद्यार्थीको शैक्षिक प्रदर्शनी : ६ तस्बिरमा हेर्नुहोस् विद्यार्थीका सिर्जना

शेचेन गुम्बाका विद्यार्थीको शैक्षिक प्रदर्शनी : ६ तस्बिरमा हेर्नुहोस् विद्यार्थीका सिर्जना

काठमाडौं : शेचेन गुम्बाका रिम्पोछे, शेचेन राब्जम रिम्पोछेको जन्मोत्सवको उपलक्ष्यमा शेचेन गुम्बाका विद्यार्थीहरूले शैक्षिक प्रदर्शनी गरेको छ। सोमबारको प्रदर्शनी बाह्य विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको हो। 

लस्करै बसेका गेरुवा वस्त्रमा विभिन्न उमेर समूहका विद्यार्थीहरू, कक्षा र समूहअनुसार विभिन्न कोलाजहरुको प्रदर्शनी, विद्यार्थीले आफ्नै ढंगले गरेको व्याख्या, यी सबै परिवेशले गर्दा सोमबार बौद्धमा अवस्थित शेचेन गुम्बाको परिसर निकै आकर्षक देखिन्थे।

बौद्ध धर्मसँगै विज्ञान, गणित, नेपाली, अंग्रेजीको विषय र धार्मिक मिथहरुलाई समेत विद्यार्थीहरूले कलात्मक शैलीमा आफ्नो प्रदर्शनी गरेका हुन्। “हामीले विद्यार्थीहरूलाई फरक विद्यालय भइकन पनि हामी अरू जस्तै पढ्छौं, सक्षम छौं भन्ने महसुस गर्नको लागि दुई/दुई वर्षमा यस्तो कार्यक्रम गर्ने गर्छौं,” विद्यालयका प्रधानाध्यापक झबिन्द्र सुबेदीले बताए।

प्रदर्शनीमा आधारभूत तह देखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले भाग लिएका थिए। यहाँ विद्यार्थीहरू पूर्ण रूपमा नि:शुल्क पढ्ने गर्छन्। नेपालमा गुम्बा शिक्षाको स्पष्ट नीति बनिसकेको छैन। यसले गर्दा विद्यालयहरूलाई विभिन्न आक्षेप लाग्ने गरेको र विद्यालयलाई अप्ठ्यारो हुने गरेको उनी बताउँछन्।

यहाँ ताप्लेजुङ, खोटाङ, भोजपुर, मकवानपुर, बारा, हुम्ला, जुम्ला, मुगु, डोल्पा र मनाङ मुस्ताङ देखिको तीन सय भन्दा बढी विद्यार्थी पढ्ने गर्छन्। विद्यार्थीहरू विद्यालय समय पछि यहीकै छात्रवासमा बस्ने गर्छन्।

पुष १४, २०८२ सोमबार १७:४८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।