वर्तमान सङ्कटको निकास निर्वाचनै हो : संयोजक प्रचण्ड
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको निकासका लागि निर्वाचन नै उत्तम विकल्प भएको बताएका छन्।
सोमबार बानेश्वर बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले ‘जेन-जी आन्दोलन’ पछिको अवस्थामा राष्ट्रलाई अराजकताबाट जोगाउन र लोकतान्त्रिक विधिबाट निकास दिन निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे।
‘नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेन-जी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ,’ उनले भने, ‘नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट भएको छ। अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिन युवाहरू अघि बढ्नुपर्छ।’
उनले सङ्कटमा परेको राष्ट्रलाई निकास दिने जिम्मेवारी अब युवापुस्ताको काँधमा आएको बताए।
यस्तै, कार्यक्रममा बोल्दै संयोजक दाहालले सामुदायिक क्याम्पसहरूको शैक्षिक गुणस्तर सुधारमा जोड दिए। शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको आधारभूत दायित्व भएको भन्दै उनले शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने धारणा राखे।
सामुदायिक शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धिमा आफ्नो सधैँ साथ रहने उनले प्रतिबद्धता व्यक्त गरे।
पुष १४, २०८२ सोमबार ११:२३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।