आइक्यानद्वारा सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण
काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको छ।
आइतबार काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रमका बीच जुन २०२६ ब्याजको प्रथम तह (फाउन्डेसन लेवल) मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै सिए शिक्षाबारे जानकारी गराइएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले विद्यार्थीलाई लेखा व्यवसाय क्षेत्रका नवीन परिवर्तनहरू आत्मसात गर्दै चार्टर्ड एकाउन्टेन्सीको यात्रा तय गर्न शुभकामना दिए।
यस्तै, संस्थाका उपाध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले विद्यार्थीहरूले नयाँ सोच, जोस र जाँगरसहित योग्य पेसाकर्मी बन्न कोसिस गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विशेष वक्ताका रूपमा उपस्थित नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर सिए महाप्रसाद अधिकारीले आफ्नो अनुभव सुनाउँदै विद्यार्थीलाई हौसला प्रदान गरे।
साथै संस्थाका निवर्तमान अध्यक्ष सिए प्रवीणकुमार झा, पार्षद् सिए हरिकुमार सिलवाल र क्याप-थ्रीका टपर सागर ज्ञवालीले आ-आफ्नो सिए यात्रा, सिए करिअरका विविध आयाम र चुनौतीका विषयमा प्रेरणादायी मन्तव्य राखे।
संस्थाका कार्यकारी निर्देशक सिए विमल डंगोलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहायक निर्देशक सिए गौरव खतिवडाले संस्था र सिए शिक्षाको संरचनाबारे प्रस्तुतीकरण दिए।
करिब ४२५ जना विद्यार्थीको भौतिक उपस्थिति रहेको कार्यक्रममा नयाँ विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत देखाएका थिए।
पुष १४, २०८२ सोमबार ०९:३३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।