क्यासिनोमा ‘हाइ-टेक’ ठगी : वाल्डो डाइनेष्टीका अध्यक्ष छिङ पक्राउ

क्यासिनोमा ‘हाइ-टेक’ ठगी : वाल्डो डाइनेष्टीका अध्यक्ष छिङ पक्राउ

काठमाडौं : म्याग्नेटिक तास र विशेष कन्ट्याक्ट लेन्सको प्रयोग गरी क्यासिनोमा ‘हाइ-टेक’ ठगी गर्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन्। काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्टका अध्यक्ष छान मिन छिङ पक्राउ परेका हुन।

७५ वर्षीय चिनियाँ नागरिक छिङलाई ठमेलस्थित उनकै क्यासिनोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए। यस घटनामा प्रहरीले मुख्य योजनाकार सुरेश महाजन, मुख्य खेलाडी विक्रम सिंहसहित ६ जनालाई यसअघि नै पक्राउ गरेर सार्वजनिक गरिसकेको छ। 

विशेष चिप जडान गरिएको ‘म्याग्नेटिक तास’ र त्यसको संकेत देख्न सकिने ‘कन्ट्याक्ट लेन्स’ प्रयोग गरी यो गिरोहले काठमाडौंमा सञ्चालित क्यासिनोहरूमा ठगी धन्दा चलाएको थियो। प्रहरीका अनुसार भारतीय नागरिकसहितको यो समूहले 'क्यासिनो इभेन्ट'को आवरणमा लुट मच्चाउने गरेको थियो।

 'म्याग्नेटिक तास' र ती तासका संकेतहरू देख्न सकिने 'कन्ट्याक्ट लेन्स'को सहायतामा गिरोहले खेलको नतिजा आफ्नो पक्षमा सुनिश्चित गर्ने गर्दथ्यो। यसरी ठगीबाट संकलित करोडौं रकम ‘हुण्डी’ मार्फत भारत पठाउने गरिएको प्रहरी अनुसन्धानले देखाएको थियो। गिरोहका अन्य केही सदस्यहरू अझै फरार छन्। 

पुष १३, २०८२ आइतबार १४:२०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।