एनएमए चुनाव : मंगल रावल समूहले जितेपछि राजनीतिक नियुक्ति नलिने घोषणा गरे

एनएमए चुनाव : मंगल रावल समूहले जितेपछि राजनीतिक नियुक्ति नलिने घोषणा गरे

काठमाडौं : नेपाल चिकित्सक संघ (एनएमएस)को आसन्न निर्वाचनमा डा. मंगल रावलको नेतृत्वमा चुनावी मैदानमा होमिएको ‘टिम मंगल’ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यो समूहले आफूहरू निर्वाचित भए कार्यकालभरि स्वास्थ्य क्षेत्रका कुनै पनि राजनीतिक नियुक्ति नलिने घोषणा गरेको हो। 

चिकित्सक संघमार्फत गरिने निर्णयहरूमा कुनै पनि राजनीतिक दल वा तिनका संगठनको संलग्नता नरहने प्रतिबद्धता समेत टिम मंगलले जनाएको छ। ‘हाम्रो टिमको कुनै पनि सदस्य कुनै पनि राजनीतिक दलमा आबद्ध हुने, पद लिने वा राजनीतिक गतिविधिमा संलग्न हुनेछैनन्,’ प्रतिबद्धता पत्रमा भनिएको छ।

संघले गर्ने महत्त्वपूर्ण निर्णयहरू बहुमत सदस्यबाट पारित हुनुपर्ने व्यवस्था गर्दै त्यस्ता निर्णयका लागि ‘ब्यालोटिङ’ प्रणाली लागू गर्ने समूहको योजना छ। त्यसैगरी, पारदर्शिताका लागि प्रत्येक महिना संघको प्रगति विवरण र प्रत्येक तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

आफूहरूले जिते सबै सदस्यलाई मताधिकारसहितको साधारण सदस्यता शुल्क ३०० रुपैयाँ कायम गरी पुनः सुचारु गर्ने र निर्वाचनमा उम्मेदवारी दिन लाग्ने ४ वर्षे र ७ वर्षे प्रतिबन्ध तत्काल खारेज गर्ने घोषणा गरेको छ। ‘हाम्रो एनएमए, सबैको एनएमए’ भन्ने नारासहित यो समूहले चिकित्सक ऐनका लागि पहल गर्ने, संघले चिकित्सकहरूलाई दिने सुविधा सुधार र विस्तार गर्ने तथा नीतिगत सुधारका कार्यहरू गर्ने दाबी गरेको छ।

डा. रावलको नेतृत्वमा रहेको यो समूहलाई मुख्यगरी एमाले निकट चिकित्सकहरूको धारका रूपमा हेरिए पनि डा. रावलले भने यसलाई अस्वीकार गर्दै आएका छन्। संघको नयाँ नेतृत्व चयनका लागि आगामी माघ २ र ३ गते उपत्यकाबाहिर तथा माघ १५, १६ र १७ गते उपत्यकाभित्र मतदान हुँदैछ।

संघको केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सह-कोषाध्यक्षसहित सातै प्रदेशबाट एक-एक जना उपाध्यक्ष (प्रादेशिक संयोजक) र ६ जना सदस्य रहने व्यवस्था छ।

डा. रावलको प्यानलमा को-को छन् ?

डा. रावल नेतृत्वको टिमको वरिष्ठ उपाध्यक्षमा डा. किर्तीपाल सुवेदी र महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चाँदनी जयसवाल, सहसचिवमा डा. राम जीवन प्रसाद र सह-कोषाध्यक्षमा डा. सुवास गुरुङले उम्मेदवारी दिएका छन्। 

त्यसैगरी यो समूहको उपाध्यक्षमा प्रादेशिक संयोजक समेत रहने गरी कोशीबाट डा. टंक प्रसाद बाराकोटी, मधेशमा डा. उदय नारायण सिंह, बागमतीमा डा. अरुण शाही, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. सन्तोष पोखरेल, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. निरज अर्यालले उम्मेदवारी दिएका छन्। 

डा. शाही भने संघको निर्वाचन कमिटीले उम्मेदवारी खारेजी गरिदिएपछि उम्मेदवारी कायमको लागि कानुनी प्रक्रियामा छन्। 

डा. रावल नेतृत्वको समूहतर्फ सदस्यको उम्मेदवारी दिनेमा डा. अरुण उप्रेती, डा. पल्पसा श्रेष्ठ, डा. अमित झा, डा. निराजन तामाङ, डा. जेबाना अन्सारी, डा. दीक्षा बोहरा छन्। 

पुष १३, २०८२ आइतबार १३:५५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।