लुम्बिनीमा बैंकिङ पहुँचको कमजोर चित्र : तीन चौथाइ नागरिकको आफ्नो खाता छैन
बुटवल : लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको सञ्जाल विस्तार भए पनि प्रदेशका १५ वटा स्थानीय तहका अधिकांश नागरिक अझै बैंकिङ पहुँच बाहिरै रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशका १०९ स्थानीय तहमध्ये १५ वटा पालिकाका औसत ३५ प्रतिशत जनसंख्याको मात्र बैंक खाता रहेको छ।
समग्र प्रदेशको कुल जनसंख्याको झण्डै तीन चौथाइ हिस्साको आफ्नो बैंक खाता छैन। पहुँचका हिसाबले रुपन्देही सबैभन्दा अगाडि छ भने बाँके र पाल्पाका कतिपय पालिकाको अवस्था निकै कमजोर देखिएको छ। विशेषगरी बाँकेको डुडुवा र पाल्पाको निस्दी गाउँपालिकामा बैंकिङ पहुँचको अवस्था कमजोर देखियो। भौगोलिक कठिनाइ र चेतनाको अभावका कारण लुम्बिनी प्रदेशका दुर्गम स्थानीय तहमा बैंकिङ पहुँच निकै कमजोर देखिएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा कम बाँकेको डुडुवा गाउँपालिकामा बैंकिङ पहुँच रहेको छ। राष्ट्रिय जनगणना ०७८ अनुसार यहाँको कुल जनसंख्या ४३ हजार ३९ जनसंख्या छ। जसमध्ये जम्मा १८ दशमलव ९ अर्थात ८ हजार १३४ जनाले मात्र बैंक खाता खोलेका छन्। गाउँपालिका सूचना अधिकारी सन्जयकुमार कर्ण धेरैले भौगोलिक कठिनाइका कारण र व्यापार गर्दा पनि नगदी कारोबार गर्ने भएकाले बैंकिङ पहुँच गाउँपालिकामा कम देखिएको बताए।
त्यस्तै पहुँच पाल्पाको निस्दी गाउँपालिका पनि बैंकिङ पहुँच कम पर्ने दोस्रो स्थानीय तह हो। कुल १७ हजार ६२९ जनसंख्या रहेको गाउँपालिकामा जम्मा ३ हजार ८९८ वटा मात्र बैंक खाता रहेको तथ्यांकले देखाउँछ। जुन जम्मा २२ दशमलव ११ प्रतिशत मात्र हो। गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु भौगोलिक विकटताकै कारण बैंकमा जनताको पहुँच नपुगेको बताउँछन्।
पाल्पाको सबैभन्दा विकट गाउँपालिकामा मानिने निस्दीमा एउटा मात्र लक्ष्मी सनराईज बैंक छ। ‘बैंक पनि नाम मात्रको जस्तो छ। हाम्रो वडाकै कुरा गर्नुहुन्छ भने वडा नं. १, २, ६, ७ का जनताले सामाजिक सुरक्षा भत्ता अन्य पालिकामा रहेको बैंकबाट लिनुहुन्छ। बैंकिङ सेवा लिन सहज छैन,’ उनले भने। त्यहाँका जनता बैंकमा भन्दा पनि बढी लघुवित्त सहकारीमा आबद्ध भएको उनी बताउँछन्।
त्यस्तै पाल्पाको पूर्वखोला गाउँपालिकामा पनि जम्मा २९ दशमलव ५ प्रतिशत जनसंख्यामा मात्र बैंकिङ पहुँच पुगेको छ। कुल १६ हजार १५४ जनसंख्या रहेकोमा अहिलेसम्म ४ हजार ७६२ जनाले मात्र बैंक खाता खोलेका छन्। पाल्पाकै तिनाउ गाउँपालिकामा जम्मा २६ दशमलव ७१ प्रतिशत जनतामा बैंकिङ पहुँच पुगेको छ। १८ हजार २९१ जनसंख्या रहेको गाउँपालिकाका जम्मा ४ हजार ८ सय जनाले मात्र बैंक खाता खोलेको तथ्यांक छ।
२ हजार बढी बैंक
राष्ट्र बैंकको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा ६१ दशमलव ५२ प्रतिशत परिवारमा एक बैंक खाता मात्र छ। तर समग्रमा प्रदेशमा अझै तीन चौथाइभन्दा बढी जनसंख्यासँग बैंक खाता नै छैन। राष्ट्र बैंकका अनुसार २२ दशमलव ७१ प्रतिशत पुरुष र २३ दशमलव १५ प्रतिशत महिला जनसंख्याको मात्र बैंक खाता छ।
लुम्बिनी प्रदेशमा अहिले २ हजार बढी बैंक तथा वित्तीय संस्था रहेका छन्। हालसम्म 'क' वर्गका ७४८, 'ख' वर्गका २५६, 'ग' वर्गका ४७ र 'घ' वर्गका १ हजार ९६ गरी प्रदेशभर २ हजार १४७ बैंक तथा वित्तीय संस्थाका शाखाहरू रहेका छन्। त्यस्तै १६२ वटा शाखारहित बैंकिङ सेवाबाट वित्तीय सेवा उपलब्ध गराएका छन्।
प्रदेशभर कुल ५१ लाख ६ हजार २ सय व्यक्तिका ७७ लाख ५२ हजार ५३४ वटा बैंक खाता रहेका छन्। जसमध्ये ४० लाख १५ हजार ६०१ जना मोबाइल बैंकिङ र २ लाख ८३ हजार ९९२ जना इन्टरनेट बैंकिङ सेवामा जोडिएका छन्।
रुपन्देहीमा मात्र ५४१ बैक शाखा, २३ शाखा रहित बैंकिङ सेवा बाट १३ लाख ३० हजार ३९९ मोबाइल बैंकिङमा जोडिएका छन् भने १ लाख ३३ हजार ३०८ जना इन्टरनेट बैंकिङमा दर्ता भएका छन्। रुपन्देहीमा २३ लाख ६६ हजार बढी बैंक खाता छन्।
कपिलवस्तुमा ७ लाख ५० हजार बैंक खाता मध्ये ३ लाख ३७ हजार, नवलपरासीमा ५ लाख ६८ हजार खाता मध्ये ३ लाख खाता मोबाइल बैंकिङमा जोडिएका छन्।
यसैगरी पाल्पामा ३ लाख ८९ हजार बैक खाता रहेकोमा २ लाख २ हजार जना मोबाइल बैंकिङमा जोडिएका छन्। गुल्मीमा ३ लाख ८८ हजार मध्ये १ लाख ८४ हजार, अर्घाखाँचीमा २ लाख ५१ हजार मध्ये १ लाख २४ हजार, प्यूठानमा २ लाख ५० हजार खाता मध्ये १ लाख ३ हजार, बाँकेमा ९ लाख ९२ हजार खाता मध्ये ५ लाख ६ हजार मोबाइल बैकिङमा जोडिएका छन्। यसैगरी बर्दियामा ४ लाख ८७ हजार मध्ये २ लाख ४८ हजार, दाङमा १० लाख ७१ हजार मध्ये ५ लाख ८३ हजार र रुकुम पूर्वमा ४३ हजार ८७२ मध्ये १७ हजार ४४७ जना मोबाइल बैकिङमा जोडिएका छन्।
प्रदेशमा निक्षेप ६ खर्ब बढी
लुम्बिनी प्रदेशमा ०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप ०८१ असार मसान्तको तुलनामा १५ दशमलव ४३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६० अर्ब १० करोड ३२ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ। जसमध्ये चल्ती निक्षेप ३३ दशमलव १५ प्रतिशत, बचत निक्षेप ३५ दशमलव १२ प्रतिशत र अन्य बचत २१ दशमलव ०५ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै तथ्यांक अनुसार मुद्दती निक्षेप भने ६ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ। यसैगरी कुल निक्षेपमा चल्ती, बचत, मुद्दती र अन्य निक्षेपको अंश क्रमशः ६ दशमलव ५१ प्रतिशत, ५१ दशमलव ३३ प्रतिशत, ३६ दशमलव ७१ प्रतिशत र ५ दशमलव ४६ प्रतिशत रहेको छ।
जिल्लाहरूको कुल निक्षेपको तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लामा ४२ दशमलव ३३ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुकुमपूर्व जिल्लामा शून्य दशमलव ३८ प्रतिशत रहेको छ। रुपन्देहीमा मात्र २ खर्ब ७९ अर्ब ३९ करोड निक्षेप संकलन भएको देखिन्छ। जुन कुल निक्षेपको ४२ दशमलव ३३ प्रतिशत हो। सबैभन्दा कम निक्षेप रुकुम पूर्वमा संकलन भएको छ। रुकुमपूर्वमा २ अर्ब ५२ करोड ६ लाख अर्थात ० दशमलव ३८ प्रतिशत छ।
त्यसैगरी कर्जा निक्षेप अनुपात ८७ दशमलव ४५ प्रतिशत छ। कुल कर्जाको जिल्लागत अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देहीको ५० दशमलव ४६ र सबैभन्दा कम रुकुमपूर्वको ० दशमलव २३ प्रतिशत छ। ०८२ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा ०८१ असार मसान्तको तुलनामा २ दशमलव ९२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७७ अर्ब २७ करोड ६० लाख पुगेको छ।
यसैगरी ०८२ असार मसान्तसम्म प्रदेशमा प्रवाह गरेको विपन्न वर्ग कर्जा ०८१ असार मसान्तको तुलनामा ३३ दशमलव ४४ प्रतिशतले ह्रास भई २९ अर्ब ३९ करोड ५ लाख पुगेको छ। ०८१ असारमा प्रदेशभर विपन्न वर्गका लागि ४४ अर्ब २३ करोड २ लाख कर्जा प्रवाह भएको थियो। त्यस्तै पुनरकर्जा ०८१ ऋसार मसान्तसम्म १४ करोड ९७ लाख रहेकोमा ०८२ असार मसान्तसम्ममा १७ दशमलव ५३ प्रतिशतले ह्रास भई १२ करोड ३४ लाख रहेको छ।
यसैगरी र सहुलियत कर्जा पनि गएको वर्ष ह्रास भएको छ। ०८१ असार मसान्तको तुलनामा ०८२ असार मसान्तसम्म ४६ दशमलव ७३ प्रतिशत सहुलियतपूर्ण कर्जामा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ। ०८१ ऋसार मसान्तमा १९ अर्ब १ करोड २८ लाख रहेको सहुलियतपूर्ण कर्जा ०८२ असारमा १० अर्ब १२ करोड ७९ लाख पुगेको छ।
पुष १३, २०८२ आइतबार १३:३१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।