ट्रम्प-जेलेन्स्की वार्ताअघि पुटिनको चेतावनी : सबै कार्यहरू सैन्य तरिकाले पूरा गर्नेछौं
एजेन्सी : रुस र युक्रेनबीचको द्वन्द्व अन्त्य गर्ने प्रयास स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फ्लोरिडामा हुन लागेको महत्त्वपूर्ण भेटवार्ता अगाडि तनाव थप बढेको छ।
युक्रेनले शान्तिपूर्ण मार्गबाट युद्ध अन्त्य गर्न कुनै खास रुचि नदेखाएको आरोप लगाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि वार्ताबाट समाधान ननिस्किए सैन्य शक्तिमार्फत आफ्ना 'विशेष सैन्य अभियान'का लक्ष्यहरू पूरा गर्ने चेतावनी दिए।
राष्ट्रपति पुटिनले युक्रेनले शान्ति प्रक्रियामा चासो नदेखाएको आरोप लगाउँदै भनेका छन्, "यदि किभका अधिकारीहरू यो मुद्दालाई शान्तिपूर्ण रूपमा सुल्झाउन चाहँदैनन् भने हामी आफ्ना अगाडि सारिएका सबै कार्यहरू सैन्य तरिकाले पूरा गर्नेछौं।"
पुटिनले युक्रेनको वर्तमान सरकार शान्ति सम्झौताका लागि कुनै हतारोमा नदेखिएको भनेका छन्। उनका अनुसार आज पनि किभका नेताहरू शान्तिपूर्ण रूपमा संघर्षलाई अन्त्य गर्न गम्भीर देखिएका छैनन्। रुसले युक्रेनमाथि अझ आक्रमण गरेको र जेलेन्स्की अमेरिकी राष्ट्रपति ट्रम्पसँगको महत्त्वपूर्ण भेटका लागि फ्लोरिडामा रहेको बेला पुटिनको यस्तो चेतावनी आएको छ। युक्रेनी अधिकारीहरूका अनुसार रुसले रातभरमा करिब ५०० ड्रोन र ४० वटा मिसाइल प्रहार गरेको छ।
राष्ट्रपति जेलेन्स्कीले शान्ति वार्ताको नयाँ चरणअघि किभमाथि रुसले गरेको आक्रमणले मस्को शान्ति चाहँदैन भन्ने पुष्टि गरेको उल्लेख गरेका छन्। आइतबार फ्लोरिडामा हुने ट्रम्प र जेलेन्स्कीबीचको वार्तालाई विश्व समुदायले निकै चासोका साथ हेरेको छ। बैठकमा अमेरिका र युक्रेनी अधिकारीहरूले तयार पारेको २० बुँदे शान्ति प्रस्तावमाथि छलफल हुने बताइएको छ।
करिब चार वर्षदेखि जारी यस युद्धमा दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भइसकेको छ। फ्लोरिडामा हुन लागेको यो उच्चस्तरीय राजनीतिक संवादले युद्ध रोक्ने दिशामा कुनै ठोस नतिजा निकाल्न सक्छ वा सक्दैन भन्नेमा अहिले विश्वको ध्यान केन्द्रित छ।
पुष १३, २०८२ आइतबार ०९:२७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।