युक्रेनमाथि भएको हमलापछि जेलेन्स्कीले भने- 'रुस शान्ति चाहँदैन'
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभमाथि रुसले गरेको आक्रमणले मस्को शान्ति नचाहने कुरा स्पष्ट भएको बताएका छन्। शान्ति वार्ताको लागि अमेरिका जानुअघि शनिबार उनले यस्तो बयान दिएका हुन्।
जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्नेछन्। भेटमा अमेरिका र युक्रेनी अधिकारीहरूले तयार पारेको २० बुँदे शान्ति प्रस्तावमाथि छलफल हुने बताइएको छ।
स्थानीय अधिकारीहरूका अनुसार किभमा करिब १० घण्टासम्म चलेको मिसाइल र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
युक्रेनका विकास मन्त्री ओलेक्सी कुलेबाले ऊर्जा पूर्वाधारमा क्षति पुगेका कारण किभ र आसपासका क्षेत्रका करिब ४० प्रतिशत आवासीय भवनहरूमा 'हिटिङ' (कोठा तातो बनाउने) सुविधा ठप्प भएको जानकारी दिएका छन्।
जेलेन्स्कीले टेलिग्राममार्फत रुसले किभतर्फ करिब ५०० ड्रोन र ४० मिसाइल प्रहार गरेको बताएका छन्। उनका अनुसार यी आक्रमणहरूमा ऊर्जा पूर्वाधार र सर्वसाधारण नागरिकसँग सम्बन्धित स्थलहरूलाई निशाना बनाइएको छ। -बीबीसीबाट
पुष १३, २०८२ आइतबार ०८:५६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।