बालेनसँगको सहमतिपछि लामिछाने भने- सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ

बालेनसँगको सहमतिपछि लामिछाने भने- सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'सँगको सात बुँदे सहमतिपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको मागअनुसार आफूहरूबीच सहकार्य भएको प्रतिक्रिया दिएका छन्।

आइतबार बिहान भएको एकता प्रक्रियामा हस्ताक्षर गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले सहमति नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने भनेका छन्।

उनले लेखेका छन्, 'सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।' लगातारको छलफलपछि आइतबार बिहान सभापति लामिछाने र बालेनले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने सहमति भएको छ। भदौको 'जेन-जी' आन्दोलन र आम नागरिकको आकांक्षाको प्रतिविम्बका रूपमा उनीहरुबीच भएको सहमतिलाई व्याख्या गरिएको छ। 

सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुने छ। पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन्।
 

पुष १३, २०८२ आइतबार ०८:०५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।