रवि र बालेनबिच ७ बुँदे सहमति : पार्टी नेतृत्वमा रवि, बालेन प्रधानमन्त्रीको उम्मेदवार
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'बीच सात बुँदे सहमति भएको छ।
बालेनले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरूबीच आज बिहान सहमति भएको हो। सहमतिमा सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्।
सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ।
यस्तै पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने सहमति भएको छ।
त्यसै गरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुने छ। पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन्।

पुष १३, २०८२ आइतबार ०६:३७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।