बालुवाटार बैठक : भयो त यार भन्दै देउवाले ओलीलाई रोकिरहे, निकै नरम सुनिइन् सुशीला

बालुवाटार बैठक : भयो त यार भन्दै देउवाले ओलीलाई रोकिरहे, निकै नरम सुनिइन् सुशीला

काठमाडौं : निर्वाचनको तयारीबारे प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केपी ओलीबीच निकै रमाइलो संवाद चल्यो। सञ्चारमन्त्री जगदीश खरेलले तीनै दलका नेतालाई स्वागत गर्दै सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी ओलीले जेनजी आन्दोलन, सरकारको वैधता अनि निर्वाचनबारे सार्वजनिक रूपमा भन्दै आएकै धारणा राखेका थिए।

उनले यस अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित राखेको छलफलमा बोलेकै विषय दोहोर्याउँदै जेनजी आन्दोलन नभएर विध्वंस भएको, सरकार अवैधानिक भएको र संसद् पुनर्स्थापना हुनुपर्ने धारणा राखिरहेका थिए। ओलीले बारम्बार त्यही विषय दोहोर्याइरहे पनि नजिकै रहेका देउवाले उनलाई रोक्दै " चुनावमा जाने भनेपछि भइगो त, कति त्यही कुरा गर्या यार!" भन्दै रोक्थे।

देउवाले निर्वाचनका लागि सेना समेत परिचालन भइसकेको भन्दै अब नकारात्मक कुरा गरेर काम छैन भने पनि ओली पनि सरकारको वैधानिकता र भदौ २३ र २४ को जेनजी आन्दोलनबारे आफ्नो नकारात्मक धारणा राखिरहेका थिए। बैठकमा सहभागीस्रोतका अनुसार ओली बोल्दै जान्थे,भइगयो त भन्दै देउवा रोक्न खोज्थे।

ओलीले बैठकमा कार्की नेतृत्वको सरकारको वैधानिकता नभएको भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने धारणा राखे पनि उनले एमाले निर्वाचनसँग नडराउने र सहभागी हुने बताएका थिए। 

बैठकमा शेरबहादुर देउवाले पनि निर्वाचनमा सहभागी हुन आफ्नो दल तयार रहेको बताएका थिए। उनले आफू मात्रै हैन तीन दलकै नेता निर्वाचनमा सहभागी हुन तयार रहेको तर अझै पनि सुरक्षाको माहोल भने निर्वाचनका लागि अनुकूल नभएको धारणा राखेका थिए। उनको चासो आइतबार र सोमबार बुझाउनु पर्ने समानुपातिक सूचीबारे थियो। उनले समानुपातिक सूची बुझाउन समस्या रहेको भन्दै पाँच दिन थप्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेकी थिइन्।

यसमा एमाले अध्यक्ष ओलीले समानुपातिक सूची बुझाउन आफ्नो पार्टीलाई समस्या नभएको बताएका थिए। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो पार्टीलाई समस्या नभएको तर अन्य पार्टीमा समस्या देखेकाले समय बढाए राम्रो हुने धारणा राखेका थिए। तर जवाफमा सरकारको तर्फबाट सञ्चारमन्त्री खरेलले यसबारे निर्वाचन आयोगलाई आग्रह गर्दा समय बढाउन नसकिने जवाफ आएको र यसबारे केही निर्णय गरे आयोगले नै गर्ने जानकारी गराएका थिए।

निकै नरम सुनिइन् सुशीला

प्रमुख तीन दलका शीर्ष नेताप्रति त्यति सकारात्मक नदेखिएकी प्रधानमन्त्री कार्की शनिबारको बैठकमा निकै नरम देखिएकी थिइन्। उनले बैठकमा निकै नरम भाषामा तीनै दलका नेताहरूलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेकी थिइन्। उनले बारम्बार बिन्ती गर्छु भन्दै आफूले राष्ट्रपतिबाट पाएको कार्यादेश अनुसार चुनाव गराउन सबै तयारी गरेको, चुनावकै लागि रक्षा मन्त्रालयबाहेक सबै मन्त्रालय मन्त्रीहरूलाई जिम्मा लगाएको र सुरक्षाको अवस्थामा सुधार भइसकेको बताएकी थिइन्।

निर्वाचनका लागि आयोग र प्रहरीका लागि चाहिने सबै स्रोत र साधनको व्यवस्था भइसकेको र सुरक्षाको अवस्थामा पनि सुधार भइसकेको भन्दै उनले बालुवाटार नेताहरूकै घर भएको भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गरेकी थिइन्।

"यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ," बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्।

पुष १२, २०८२ शनिबार २३:२९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।