बालेन, रवि र कुलमानबीच 'शक्ति बाँडफाँड'मै सकस : कुलमानले नमान्दा निर्णायक भनिएको वार्ता अवरुद्ध
काठमाडौं : वैकल्पिक राजनीतिको चर्चामा रहेका तीन प्रमुख शक्तिहरू काठमाडौं महानगरका मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङबीचको एकता प्रक्रियामा 'पावर सेयरिङ' मुख्य बाधक देखिएको छ।
यही समस्याले बिहीबार र शुक्रवार निरन्तर संवादमा रहेका उनीहरूबीच शनिवार हुने भनिएको निर्णायक वार्ता अवरुद्ध हुन पुगेको हो। स्रोतका अनुसार शनिवार उनीहरूबीच भौतिक भेटघाट हुन सकेन। टेलिफोनबाट भने पटक पटक संवाद भयो। तर सहमति हुन सकेन।
विवादको चुरो : सहअस्तित्व र सिट बाँडफाँड
वार्ताबारे जानकारस्रोतहरुका अनुसार तीनै पक्षबीच मुख्य रूपमा अस्तित्व स्वीकार र शक्ति बाँडफाँडमा मुख्य विवाद देखिएको छ। रास्वपाको तर्फबाट नेतृत्व, पार्टीको नामदेखि चुनाव चिन्हसम्म आफ्नै रहने प्रस्ताव आएको छ।
सभापतिमा रवि लामिछाने, नाम रास्वपा नै र चुनाव चिन्ह पनि घण्टी नै हुने, बालेन शाहलाई रविपछिको दोस्रो वरीयतासहित भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने र कुलमान घिसिङले मानेमा वरिष्ठ नेतासम्म दिन सकिने प्रस्ताव आएको छ।
शक्ति बाँडफाँडमा रविको तर्फबाट समानुपातिकमा ७० प्रतिशत आफ्नो र ३० प्रतिशत बालेन र कुलमानको हुने प्रस्ताव छ। यसमा बालेन र कुलमान दुवै सहमत भएका छैनन्। जानकारस्रोतका अनुसार बालेन समानुपातिकमा ५०-५० हुनुपर्ने पक्षमा छन्। रवि पक्ष अधिकतम ६०-४० को पक्षमा देखिएको छ।
रविले बालेनलाई महत्त्व दिएर मिलिहाल्न प्रस्ताव गरेका छन्। बालेन रास्वपाका मिलेमा कुलमान अनि जेनजी प्रतिनिधिहरू स्वतः रास्वपाका आउने उनको बुझाइ देखिन्छ। तर बालेन भने आफूसँगै कुलमान र जेनजीको पनि निर्णय हुनुपर्ने पक्षमा छन्।
उता कुलमान त पार्टीको नेतृत्व, नाम अनि चुनाव चिन्ह तीनै रास्वपाकै स्वीकार गरेर नजाने अडानमा छन्। तीन शक्ति मिल्ने हो भने नाम, चिन्ह र नेतृत्व पनि बाँडफाँड हुनुपर्ने उनको सर्त छ। केवल भावी प्रधानमन्त्री भनेकै आधारमा रास्वपासँग पार्टीको नाम, चुनाव चिन्ह अनि नेतृत्व तीनै पक्ष छाडेर एक हुन नसक्ने कुलमानको निष्कर्ष छ।
शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा कुलमानले रास्वपाले अहम्ता देखाएको र बालेन आए भने कुलमान पछि लागेर आइहाल्छन् भन्ने तहको व्यवहार गरेको भन्दै समान अस्तित्व स्विकारे मात्र एकता हुनसक्ने ब्रिफिङ गरेको एक नेताले उकेरालाई बताए।
“सबै पहिचान र पद रास्वपाकै स्वीकार गरेर जान सकिँदैन। समान शक्तीको रूपमा अहिले व्यवहार भएन भने भोली पनि हुन सक्दैन। नाम, नेतृत्व र चुनाव चिन्ह सबै रास्वपाको स्वीकार गर्न सकिन्न” बैठकमा कुलमानले गरेको ब्रिफिङ सुनाउँदै एक केन्द्रीय सदस्यले भने।
आइतबार समानुपातिक सूची बुझाउनुपर्ने भएकाले शनिवार तीनै पक्ष बसेर एकताको प्रक्रिया टुंगो लगाउने तयारीमा तीनै पक्ष भए पनि शनिवार मध्यरातसम्म बैठक बस्ने टुंगो लागेको छैन। बरु तीनै पक्ष आ-आफ्नै तरिकाले समानुपातिक सूची बनाउनतिर लागेका छन्।
रास्वपाले आफ्नो पार्टीबाट समानुपातिकमा उम्मेदवार बन्न चाहनेहरूसँग आवेदन मागेर छनौटका लागि अन्तर्वार्ता समेत लिइसकेको छ। यता बालेन शाहको टिम पनि बिहीबारबाटै समानुपातिक सूचीमा राख्नेहरूको सूची बनाउन जुटिसकेका छन्। उज्यालो नेपालको तर्फबाट पनि समानुपातिक सूची बनाउनेक्रम सुरु भइसकेको एक नेताले जानकारी दिए।
पुष १२, २०८२ शनिबार २२:४५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।