रवि र बालेनसँग एकता गर्न कुलमानको सर्त : विलय होइन, सम्मानजनक एकता
काठमाडौं : उज्यालो नेपाल पार्टीले सबै राजनीतिक दलको सहअस्तित्व स्थापित हुने गरी मात्रै एकता प्रक्रिया अघि बढाउनुपर्ने निर्णय गरेको छ।
शनिबार काठमाडौंको त्रिपुरेश्वरमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले कुनै पनि दलमा विलय हुनुको साटो सम्मानजनक र अस्तित्व रक्षासहितको एकतामा जोड दिने निष्कर्ष निकालेको हो।
बैठकले वैकल्पिक तथा अग्रगामी राजनीतिक शक्तिहरूलाई एकतामा आउन आह्वान गर्दै त्यसका लागि आवश्यक संवाद गर्ने पूर्ण अधिकार पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायलाई सुम्पिएको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र शाह 'बालेन'सँगको एकता प्रयासबारे विस्तृत छलफल भएको थियो। रास्वपाले एकीकृत पार्टीको सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र आगामी प्रधानमन्त्रीको रूपमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो। साथै, पार्टीको नाम र चुनाव चिन्ह रास्वपाकै रहने सर्त राखिएको थियो।
तर, उज्यालो नेपाल पार्टीले उक्त प्रस्तावलाई आफ्नो अस्तित्व समाप्त पार्ने 'विलयको स्वरूप' भन्दै अस्वीकार गरेको छ। बैठकमा पार्टीका संरक्षक कुलमान घिसिङले उक्त प्रस्तावबारे ब्रिफिङ गर्दै कसैको अस्तित्व मेटेर गरिने एकता सम्भव नहुने स्पष्ट पारेका थिए।
पार्टी प्रवक्ता राजु थापाले उज्यालो नेपाल सदैव एकताको पक्षमा रहेको बताए। उनले भने, 'सबैको सहअस्तित्वलाई स्थापित हुने गरी उज्यालो नेपाल पार्टी सदैव एकताको पक्षमा रहेको छ। आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरिएको छ।'
बैठकले देशको राजनीतिक निकासका लागि छरिएर रहेका वैकल्पिक शक्तिहरू मिल्नुपर्ने आवश्यकतालाई स्वीकार गरेको छ। पार्टी अध्यक्ष उपाध्यायलाई एकताको संवादलाई अगाडि बढाउने जिम्मेवारी दिँदै अब नयाँ शिराबाट एकताको छलफल अगाडि बढाउनु पर्ने निष्कर्ष बैठकले निकालेको छ।
पुष १२, २०८२ शनिबार १८:३७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।