सुरक्षाको सुनिश्चितता खोज्दै बालुवाटारमा शीर्ष नेताहरूले भने- 'हामी निर्वाचनका लागि तयार छौं'

सुरक्षाको सुनिश्चितता खोज्दै बालुवाटारमा शीर्ष नेताहरूले भने- 'हामी निर्वाचनका लागि तयार छौं'

काठमाडौं : प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन्। 

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भने, 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं। कांग्रेस पनि तयार छ। एमाले पनि तयार छ। अरू दल पनि तयार छन्। सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ।'

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन्। उनले निर्वाचनमा सहभागी भई सफल तुल्याउन आग्रह गरिन्। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय भएको छ। -रासस

पुष १२, २०८२ शनिबार १८:१४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।