बालेन-रविसँग एकता वार्ता चलिरहँदा कुलमानले भने- "एकताको अर्थ कसैलाई समाप्त पार्नु हैन"

बालेन-रविसँग एकता वार्ता चलिरहँदा कुलमानले भने-

काठमाडौं : पार्टी एकताका लागि बालेन शाहसँग छलफलमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङले एकताको अर्थ कसैलाई समाप्त पार्नु नभएको बताएका छन्।

उज्यालो नेपालका नेतासमेत रहेका उनले शनिबार उज्यालो नेपाल पार्टीको नुवाकोट-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको बौद्धमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सबैको अस्तित्व स्वीकार गर्दा साँचो एकता हुने बताएका हुन्।

पार्टी एकताबारे शनिवार बिहान मात्र कुलमान र बालेनबीच छलफल भएको थियो। छलफल निष्कर्षमा नपुगेपछि दुवैबिच पुनः आजै छलफलमा बस्ने सहमति भएर वार्ता सकिएको थियो। बालेन समूह र रास्वपा समूहबाट दुई-दुई जना रहेको टोलीले एकताको मस्यौदा बने पनि हस्ताक्षर भने हुन सकेको छैन।

उज्यालो नेपाल दर्ता अगाडि नै कुलमान र रास्वपाबीच एकताको प्रयास असफल भएपछि घिसिङ आफ्नै दल दर्तामा लागेका थिए। पहिला पहिलो चरणमा घिसिङलाई अध्यक्ष र रविलाई संरक्षक बनाउने गरी संवाद अगाडि बढेको थियो। पछि उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी भएको छलफल पनि सहमतिमा नपुगेपछि घिसिङ अलग दलमा लागे।

घिसिङले शनिवार भने 'एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन। सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।'

उनले जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होउन् भन्ने भएकाले नयाँ शक्तिहरूले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने समेत बताएका थिए।

‘उहाँहरूसँग संरचना होला, सबैचिज होला तर, हामीसँग जनताको विश्वास होला त्यही सबैभन्दा ठूलो करा हो,’ उनले भने, ‘जनताको विश्वास भएपछि सबैकुरा अगाडि बढ्छ।’

उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ-गाउँसम्म पुर्याउन कार्यकर्ताहरूलाई निर्देशन दिए।

पुष १२, २०८२ शनिबार १६:१४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।