एकताबद्ध हुन नयाँ शक्तिहरूले अहङ्कार त्याग्नपर्छ : घिसिङ
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा उनले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे।
घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए। 'अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन,' उनले भने, 'देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ। त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ।'
उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै उनले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए।
उनले भने, 'एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदै छ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ।' कार्यक्रममा उनले राजनीतिक एकताको विषयमा आफ्नो धारणा स्पष्ट पारे।
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने भन्दै नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए। 'एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,' उनले भने, 'सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।'
जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट होउन् भन्ने रहेको उल्लेख गर्दै उनले नयाँ शक्तिहरूले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए।
पुष १२, २०८२ शनिबार १४:४९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।