परिवारले नै ‘छोरी हो’ भनेर माया मारेको त्यो सास, जसलाई डा. बृजकुमारको डाक्टरी अनुभवले जोगायो

परिवारले नै ‘छोरी हो’ भनेर माया मारेको त्यो सास, जसलाई डा. बृजकुमारको डाक्टरी अनुभवले जोगायो

पानी चुहिने जस्तापाताको छानोमुनि बसेर स्कुल पढेका एक बालक, जसको बालमस्तिष्कमा एउटा छाप परेको थियो- ‘डाक्टर पढ्यो भने त राम्रो भवनमा बस्न पाइने रहेछ!’ तिनै बालक आज डा. बृजकुमार यादव बनेका छन्।

बालरोग विशेषज्ञ डा. बृजकुमारले आफ्नो चिकित्सकीय यात्रालाई पैसाको अभावमा कहिल्यै रोकिन दिएनन्। एमबीबीएसदेखि एमडीसम्म सबै तह छात्रवृत्तिमै पढेर उनले आफूलाई अब्बल साबित गरे।

हाल नवलपरासी पश्चिमस्थित पृथ्वीचन्द्र अस्पतालमा कार्यरत डा. बृजकुमारले उकेरासँग आफ्नो चिकित्सकीय जीवनका आरोह-अवरोह, संघर्ष र सफलताका अनुभवहरू साटेका छन्।

‘छोरी हो, किन खर्च गर्ने?’
प्रसङ्ग उपचार अनुभवबाटै थालौँ। नवलपरासी पश्चिमको पृथ्वीचन्द्र अस्पतालको एनआईसीयू कक्षमा केही समयअघि एउटा यस्तो घटना भयो, जुन डा. बृजकुमारको मानसपटलमा अझै ताजा छ।

एक दिन अस्पतालमा करिब सात महिनाकी समय अगावै जन्मिएकी बालिकालाई लिएर आमाबुवा आए। बालिकाको तौल मात्र १७ सय ग्राम थियो। सामान्यतया जन्मँदा बच्चाको तौल अढाइ किलो हुनुपर्छ।

तर, कम तौल र समय नपुगी जन्मिएकाले ती बालिकालाई सास फेर्न निक्कै गाह्रो भइरहेको थियो। चिकित्सकीय भाषामा ‘एप्निया’ भनिने यो समस्याले गर्दा बालिकाले आफैँ सास लिन बिर्सिन्थिन्, जसले मुटुको चालमा समेत गडबडी निम्त्याइरहेको थियो। आमाको दूध चुस्न सक्ने अवस्था त परै जाओस्, उनी जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी थिइन्।

छोरीको मायाले आमाबुवा अस्पतालसम्म त आए, तर परिवारका अन्य सदस्यहरूको सोच भने नितान्त फरक थियो। तराई मूलको, आर्थिक रूपमा विपन्न त्यो परिवारमा हजुरबुवा र हजुरआमाले नातिनीप्रति कठोर निर्णय सुनाए- ‘यो बच्चा बाँच्दैन, छोरी मान्छे हो, किन बेकारमा खर्च गर्ने?’

डा. बृजकुमारकै अगाडि परिवारका सदस्यले यस्तो भनेपछि उनको मन कटक्क भयो। एउटी अबोध बालिका, जसले भर्खरै धर्ती टेकेकी थिइन्, उसलाई लिङ्गकै आधारमा उपचारबाट वञ्चित गर्न खोजिनु उनका लागि असह्य थियो। उनलाई थाहा थियो- उपचार नपाए बालिकाको मृत्यु निश्चित छ, तर उपचार पाए उनी बाँच्न सक्छिन्।

‘डाक्टर साब, भएको पैसा पनि सकिन्छ, बच्चा पनि बाँच्दैन’, हजुरआमाको स्वरमा निराशा र रुढिवादी सोच दुवै झल्कियो।

तर, डा. बृजकुमारले हार मानेनन्। उनले चिकित्सकीय धर्म मात्र निभाएनन्, परिवारलाई सम्झाउन थाले। ‘बच्चा बाँच्न सक्छ, हामी प्रयास गर्छौं। पैसाको चिन्ता नगर्नुहोस्, छोरी पनि सन्तान नै हुन्,’ उनले धेरैबेर सम्झाए। अन्ततः परिवारका सदस्य ‘ल त हेरौँ’ भन्दै मन नलागी नलागी उपचार गर्न सहमत भए।

त्यसपछि सुरू भयो जीवन बचाउने लडाइँ। डा. बृजकुमार र उनको टिमले बालिकालाई एनआईसीयूमा राखे। सीपीएपी मेसिनमार्फत अक्सिजन दिइयो, एन्टिबायोटिक चलाइयो। डाक्टर र नर्सहरूको अनवरत निगरानीले बिस्तारै जादु देखायो। बालिकाको श्वासप्रश्वास सहज हुँदै गयो, रगतमा अक्सिजनको मात्रा बढ्न थाल्यो।

करिब एक हप्ताको सघन उपचारपछि त्यो ‘माया मारिएकी’ बालिका मृत्युलाई जितेर आमाको काखमा फर्किन्। डिस्चार्ज हुने बेलासम्म उनको अवस्था सामान्य भइसकेको थियो। जसलाई परिवारले ‘खर्च गर्नु बेकार’ ठानेको थियो, तिनै छोरीलाई सकुशल घर लैजाँदा आमाबुवाको आँखामा आँसु र ओठमा मुस्कान एकसाथ देखिन्थ्यो।

केही समयपछि फलोअपमा आउँदा त ती बालिकाको तौल बढेर अढाइ किलो पुगिसकेको थियो। हिजो सास फेर्न संघर्ष गरिरहेकी उनी आज फुर्तिली र चञ्चल भएकी थिइन्। डा. बृजकुमार भन्छन्- ‘त्यो क्षण मेरा लागि कुनै ठूलो अवार्ड जितेभन्दा कम थिएन।’

सफा भवनको सपनाले डोर्याएको डाक्टरी यात्रा
महोत्तरीको पिपरा गाउँपालिका-३ मा २०४५ सालमा जन्मिएका बृजकुमारको बाल्यकाल सामान्य थियो। बुवा प्राथमिक तहका शिक्षक भएकाले घरमा पढ्ने वातावरण त थियो, तर विद्यालयको अवस्था भने दयनीय थियो। जस्तापाताले छाएको पानी चुहिने स्कुलमा पढ्दा उनलाई सधैँ लाग्थ्यो- ‘के सधैँ यस्तै ठाउँमा बस्नुपर्ने हो?’

कक्षा ८/९ मा पढ्दाको एउटा घटनाले उनको जीवनको मोड नै बदल्यो। बुवा बिरामी परेपछि उपचारका लागि उनी बुवासँगै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे। त्यहाँको विशाल र भव्य अस्पताल भवन र सेतो कोटमा सजिएका डाक्टरहरूको मान-प्रतिष्ठा देख्दा उनी लोभिए।

बालमस्तिष्कमा एउटा छाप पर्यो- ‘ओहो! डाक्टर भयो भने त यस्तो राम्रो भवनमा बस्न पाइने रहेछ, एसीमा काम गर्न पाइने रहेछ।’ त्यही ‘सफा भवन’ को मोहले उनलाई डाक्टर बन्ने सपना देखायो।

गाउँकै रामनारायण अयोध्या माविबाट २०६० सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उनी डाक्टर बन्ने सपना बोकेर अघि बढे। जनकपुरको धनुषा साइन्स क्याम्पसबाट विज्ञान विषयमा प्लस टु सकेपछि उनी काठमाडौं हानिए। उनले २०६६ सालमा एमबीबीएस अध्ययनका लागि शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए।

सन् २००९ मा चितवनको कलेज अफ मेडिकल साइन्सेस, भरतपुरमा एमबिबिएस अध्ययन सुरु गरेका उनले सन् २०१४ मा डाक्टरी पढाइ सके। ‘सफा भवन’को सपना देखेर डाक्टरी पढेका बृजकुमारको कर्मक्षेत्र भने फेरि ‘भत्किएको भवन’ नै बन्न पुग्यो, तर यसपटक भूमिका फरक थियो।

भूकम्प, भत्किएको स्वास्थ्य चौकी र डोरीमा सलाइन
सरकारी छात्रवृत्तिमा पढेबापत दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियमअनुसार डा. बृजकुमारको पोस्टिङ सिन्धुलीको ग्वाल्टार स्वास्थ्य चौकीमा भयो। समय थियो- २०७२ सालको जेठ महिना। देश भर्खरै विनाशकारी भूकम्पको चपेटामा परेको थियो।

ग्वाल्टार पुग्दा उनले देखे- स्वास्थ्य चौकीको भवन भूकम्पले जीर्ण बनेको थियो, शौचालय भत्किएका थिए। जुन ‘भव्य भवन’ को सपना देखेर उनी डाक्टर बनेका थिए, नियतिले उनलाई फेरि उस्तै दयनीय संरचनामा पुर्याएको थियो। तर, यसपटक उनीसँग गुनासो गर्ने समय थिएन, किनकि उनी अब बिरामीका ‘सहारा’ थिए।

असार महिनाको कुरा हो, ग्वाल्टार नजिकैको शीतलपाटी गाउँमा झाडापखालाको प्रकोप फैलियो। भूकम्पपछि दुषित पानीको प्रयोगले गाउँका गाउँ बिरामी परेका थिए। यातायात अवरुद्ध थियो, कमला नदीमा बाढी आएर गाउँ टापुजस्तै बनेको थियो। एम्बुलेन्स आउने सम्भावना थिएन।

डा. बृजकुमार खबर पाउनासाथ टोली लिएर शीतलपाटी पुगे। पातलो बस्ती, छरिएका घरहरू। एक-एक घरमा पुगेर उपचार गर्न सम्भव थिएन। उनले निर्णय गरे- सबै बिरामीलाई एकै ठाउँमा जम्मा गर्ने। एउटा घरको आँगन र बरण्डामा बिरामीहरूलाई राखियो।

त्यहाँ न बेड थियो, न सलाइन स्ट्यान्ड। तर, डा. बृजकुमार रोकिएनन्। उनले डोरी टाँगेर सलाइनका बोतलहरू झुन्ड्याए। भुइँमा गुन्द्री ओछ्याएर सुतेका बिरामीहरूको हातमा क्यानुला लगाउँदै जीवनजल र एन्टिबायोटिक चलाए। करिब डेढ सय बिरामीको उपचार त्यो आँगनमा भयो।

‘त्यतिबेला स्रोत साधन केही थिएन, तर हौसला थियो,’ डा. बृजकुमार सम्झन्छन्, ‘हामीले डोरीमा सलाइन झुन्ड्याएरै भए पनि गाउँका सबै बिरामीलाई बचाउन सक्यौँ। कसैको पनि ज्यान जान दिएनौँ।’

बालबालिकाको साथी
दुई वर्षे दुर्गम सेवा सकेपछि डा. बृजकुमारलाई थप पढ्ने हुटहुटी चल्यो। उनले स्नातकोत्तर (एमडी)का लागि प्रवेश परीक्षा दिए र फेरि पनि पूर्ण छात्रवृत्तिमै नाम निकाले। विषय रोजे- बालरोग।

‘अरू विषय पढ्ने अवसर पनि थियो, तर मलाई बच्चाहरूसँगै रमाउन मनपर्छ,’ उनी भन्छन्, ‘बच्चाहरूका आँखामा जुन निर्दोषपन हुन्छ, उनीहरूको उपचार गर्दा मिल्ने आत्मसन्तुष्टि अन्यत्र कहाँ पाइन्छ र?’

सन् २०१९ देखि २०२२ सम्म महाराजगञ्ज चिकित्सा क्याम्पस (टिचिङ हस्पिटल)मा एमडी सकेपछि उनी पुनः छात्रवृत्ति करारमा जनकपुर प्रादेशिक अस्पताल (हाल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा खटिए। त्यहाँ दुई वर्ष सेवा गरेपछि उनी लुम्बिनी प्रदेश लोकसेवा आयोग पास गरेर स्थायी सरकारी जागिरे बने।

हाल नवलपरासी (पश्चिम) स्थित पृथ्वीचन्द्र अस्पताल, परासीमा बालरोग विशेषज्ञ तथा विभाग प्रमुखका रूपमा कार्यरत डा. बृजकुमार हरेक दिन सयौं बालबालिकाको मुहारमा मुस्कान फर्काउन तल्लीन छन्।

पुष १२, २०८२ शनिबार १४:०४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।